काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) खरिद प्रक्रिया र त्यससँग जोडिएर न्यायालयमा विचाराधीन मुद्दाको विषयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति काठमाडौँस्थित जर्मन दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासले एक वक्तव्य जारी गर्दै पछिल्ला दिनहरूमा यस कूटनीतिक मामिलालाई लिएर सञ्चारमाध्यममा सम्प्रेषण भएका कतिपय रिपोर्टहरू गलत, भ्रामक र तथ्यहीन रहेको दाबी गरेको छ।
पछिल्लो समय नेपालको राहदानी खरिद प्रकरण र जर्मन कम्पनीको संलग्नतालाई जोडेर कूटनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका बेला जर्मनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
सञ्चारमाध्यमहरूमा बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मनीको सङ्घीय परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ वा स्पष्टीकरण सोधिएको भनी आएका समाचारको दूतावासले खण्डन गरेको छ। जर्मनीले त्यसलाई नियमित र सद्भावपूर्ण कूटनीतिक संवादको रूपमा व्याख्या गरेको छ।
‘बर्लिनस्थित नेपालका कार्यबाहक राजदूतलाई जर्मनीको सङ्घीय परराष्ट्र मन्त्रालयमा एउटा बैठकका लागि आमन्त्रण मात्र गरिएको हो। आम कूटनीतिक अभ्यासभन्दा बाहिर गएर कुनै सोधपुछ गरिएको होइन,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जर्मन दूतावासले उक्त बैठकका क्रममा जर्मनीको तर्फबाट नेपाल पक्षलाई कुनै पनि किसिमको विरोध पत्र वा अन्य त्यस्ता कानुनी कूटनीतिक कागजातहरू हस्तान्तरण नगरिएको स्पष्ट पारेको छ।
यसैबीच, जर्मनीले नेपालको आन्तरिक कानुनी प्रक्रिया र यहाँको न्यायपालिकाको सर्वोच्चतालाई पूर्ण सम्मान गर्ने प्रतिबद्धतासमेत दोहोर्याएको छ।
जर्मन पक्षले राहदानी प्रकरणमा हालसम्म कतै पनि, कुनै पनि प्रकारको टिप्पणी वा हस्तक्षेप नगरेको दाबी गर्दै भ्रममा नपर्न सरोकारवाला सबैमा आग्रह गरेको छ। नेपाल र जर्मनीबीचको दशकौँ पुरानो द्विपक्षीय र कूटनीतिक सम्बन्ध यस्ता भ्रमपूर्ण प्रचारबाट प्रभावित नहुनेसमेत दूतावासको विश्वास छ।



प्रतिक्रिया