नारायणीको बाढी बस्तीमा पस्न थाल्यो

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

काठमाडौं । लगातारको वर्षापछि चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ। पानीको बहाव बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान र डुबानको जोखिम बढेको छ।

भरतपुर महानगरपालिका–१७ र २८ का केही तटीय बस्तीमा पानी पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

चितवनकै बनकट्टास्थित रिउ खोलाको जलसतह पनि खतराको सीमाभन्दा माथि पुगेको छ। नदी तथा खोलामा बहाव उच्च रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन र जोखिम बढे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

पश्चिम चितवनका अन्य बस्तीमा समेत बाढी पस्न सक्ने जोखिम रहेकाले प्रहरीले नदी किनारका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। चितवनमा रातभर वर्षा जारी रहेकाले जोखिम अझै बढ्न सक्ने बताइएको छ।