साउनभित्रै सवा २ लाख टन मल: रोपाइँको चटारोमा किसानलाई राहत


काठमाडौँ । मानसुनको सक्रियतासँगै मुलुकभर धान रोपाइँको चटारो सुरु भएको छ । हरेक वर्ष मुख्य सिजनमै रासायनिक मलको हाहाकार खेप्दै आएका किसानका लागि यसपटक भने केही सुखद् संकेत देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्रै करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने अन्तिम तयारी गरेको छ ।

विगतका वर्षहरूमा मलकै अभावमा उत्पादन घट्ने र किसानहरू सीमावर्ती बजारमा भौंतारिनुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै मन्त्रालयले यस वर्ष बेलैमा आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाएको हो ।

मन्त्रालयका अनुसार जीटूजी सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याइँदै छ । उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ । यसबाहेक भारतसँगकै जीटूजी सम्झौताको कुल ८० हजार मेट्रिक टकमध्ये पहिलो चरणको ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपाल आइपुग्ने मन्त्रालयको दाबी छ ।

यता अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिँदै छ, जसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यो मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको छ ।

यस्तै, ओमनबाट लोडिङको प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो साता नेपाल भित्रिने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ ।
यसैगरी होर्मुजबाट ३० हजार मेट्रिक टन डीएपी भिसाखापटनम् पोर्टमा पुगिसकेको र असार १९–२० गतेभित्रै नेपाल आइपुग्ने जनाइएको छ ।

यस्तै, कतारबाट ३० हजार मेट्रिक टन युरिया सिपमेन्ट भई असार अन्तिम साता कलकत्ता आइपुग्नेछ भने साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भई असार अन्तिम साता कलकत्ता आइपुग्नेछ ।

उता, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी लोड भई साउन दोस्रो साता नेपाल भित्रिनेछ ।

मध्यपूर्वमा जारी भू–राजनीतिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता र ढुवानीमा समस्या आए पनि नेपाली किसानलाई अभाव हुन नदिन मन्त्रालय लागिपरेको छ ।