रास्वपाः शपथसँगै परिपक्वताको परीक्षा शुरु हुने


काठमाडौँ । वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांगठनिक सुदृढीकरणको नयाँ अध्यायमा प्रवेश गरेको छ। चितवनमा सम्पन्न ऐतिहासिक पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्वले आज औपचारिक रूपमा शपथ ग्रहण गर्दै छन्। पार्टीको केन्द्रीय कार्यालय परिसरमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उत्साहजनक उपस्थिति सुरु भइसकेको छ, जसले पार्टीभित्र नयाँ ऊर्जा सञ्चार गरेको देखिन्छ।

तर, यो शपथ ग्रहण एउटा औपचारिक प्रक्रिया मात्र होइन, स्थापनाको छोटो समयमै संसद्, सत्ता र सडकको अनुभव बटुलिरहेको रास्वपाका लागि यो परिपक्व राजनीतिक दल बन्ने परीक्षाको सुरुवात पनि हो। चितवन महाधिवेशनले रास्वपाको सांगठनिक ढाँचालाई नयाँ स्वरूप दिएको छ। पार्टीको विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । उनीहरुको शपथसँगै परिपक्वताको परीक्षा शुरु हुनेछ ।