मिटरब्याज र सहकारी पीडितलाई न्याय दिलाएरै छाड्छुः ऋषि धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाले देशका सम्पूर्ण मिटरब्याज र सहकारी पीडितहरूको पक्षमा आफू चौबिसै घण्टा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरीको बर्जुमा आयोजित मिटरब्याज पीडितहरूको विशाल जनसभालाई टेलिफोनमार्फत सम्बोधन गर्दै अध्यक्ष धमलाले यस्तो बताएका हुन् ।

विशेष कारणवश भौतिक रूपमा सुनसरीको सभामा उपस्थित हुन नसके पनि आफू पीडितहरूको पीडासँग हरपल जोडिएको धमलाले स्पष्ट पारे । ‘म सुनसरीको ऐतिहासिक र ठूलो सभामा आउन चाहन्थेँ, तर प्राविधिक कारणले सम्भव भएन । तथापि मेरो मन र ध्यान त्यहीँ छ,’ धमलाले टेलिफोन संवादका क्रममा भने, ‘भौतिक रूपमा उपस्थित नभए पनि पीडितहरुका जायज समस्या समाधान गर्न म लागिपर्नेछु ।’
सम्बोधनका क्रममा पत्रकार धमलाले देशमा व्याप्त मिटरब्याज र सहकारी ठगीको समस्यालाई आफूले राष्ट्रिय मुद्दा बनाउने उद्घोष गरे । जनताको सेवा नै आफ्नो अन्तिम लक्ष्य रहेको जिकिर गर्दै उनले भने, ‘म जनताको लागि काम गर्ने मान्छे हुँ । चाहे सहकारी पीडित हुन् या मिटरब्याज पीडित— सबैको न्यायका लागि म मरिहत्ते गर्न तयार छु । कसैले पीडितलाई न्याय दिन सक्दैन भने ऋषि धमलाले दिन्छ, म न्याय दिलाएरै छाड्छु ।’

नेपाली सञ्चार क्षेत्र र सामाजिक अभियानमा आफ्नो छुट्टै पहिचान बनाएका धमलाले पीडितहरूको आवाजलाई सिंहदरबार र राज्यका उच्च निकायसम्म पुर्‍याउन आफ्नो सम्पूर्ण शक्ति र सञ्चार माध्यम प्रयोग गर्ने दृढतासमेत व्यक्त गरे । सभामा उपस्थित हजारौँ पीडितहरूले धमलाको टेलिफोन सम्बोधनलाई निकै उत्साहका साथ सुनेका थिए ।