सौन्दर्यसँगै महिला उद्यमशीलतालाई प्राथमिकता दिँदै ‘मिसेस पूर्वेली आइकन-३’ को घोषणा


इटहरी– विवाहपछि महिलाहरूको सपना र रहरहरू चुलोचौकोमै सीमित हुन्छन् भन्ने परम्परागत सोचलाई चिर्दै विवाहित महिलाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित ‘मिसेस पूर्वेली आइकन सिजन-३’को औपचारिक घोषणा गरिएको छ । यसको दुईवटा सफल संस्करण सम्पन्न गरिसकेको आयोजक संस्था ओपन स्पेस प्रालिले यसपटक प्रतियोगिताको दायरा अझ फराकिलो बनाएको छ । अघिल्ला सिजनहरूमा इटहरीमा मात्र हुँदै आएको अडिसन अब धरानमा पनि आयोजना हुने भएको छ ।

२० देखि ५० वर्ष उमेर समूहका विवाहित महिलाहरूले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यसपटकको सिजनलाई केवल बाहिरी आवरणको सौन्दर्य प्रतियोगितामा मात्र सीमित नराखी महिला उद्यमशीलता र सशक्तीकरणको महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाइएको छ ।

इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ भन्छन्, “यसपटक हाम्रो प्राथमिकता सौन्दर्य प्रतियोगिता मात्र होइन, महिला उद्यमशीलताको प्रवर्द्धन हो । मिसेस पूर्वेली आइकन विवाहित महिलाहरूको क्षमता, आत्मविश्वास र पहिचानलाई उजागर गर्ने अभियान हो । हाम्रो विश्वास छ कि विवाहपछिको जीवन अन्त्य होइन, यो त नयाँ सम्भावनाको सुरुवात हो ।” त्यसैगरी, आयोजक संस्थाकी सिईओ सजिना श्रेष्ठले सहभागीहरूलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरिने बताइन् ।

उनले “फोटोसुट, भिडियोसुट र विविध प्रचारात्मक गतिविधिमार्फत महिला सशक्तीकरण, आत्मनिर्भरता र उद्यमशीलतालाई केन्द्रमा राख्दै, हामी प्रत्येक सहभागीलाई आफ्नो सपना अझ ठूलो बनाउने अवसर प्रदान गर्नेछौं,” प्रस्ट पारिन् । प्रतियोगितामा सहभागी महिलाहरूको प्रतिभा निखार्नका लागि कोरियोग्राफर सुभेक्षा कार्कीले प्रशिक्षण दिने आयोजकले जनाएको छ । यस प्रतियोगिताको शीर्ष उपाधि जित्ने विजेताले १ लाख रुपैयाँ बराबरको पुरस्कारका साथै अन्य विभिन्न आकर्षक उपहारहरू र अवसरहरू प्राप्त गर्नेछन् ।

मिसेस पूर्वेली आइकनको दोस्रो संस्करण निकै लोकप्रिय बनेको थियो, जसमा इटहरीकी मेघा खड्काले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको ताज पहिरिन सफल भएकी थिइन् । यस्तै फस्ट रनरअप र ‘पब्लिक च्वाइस’ कबिना पोखरेल, सेकेन्ड रनरअप र ‘मिसेस पर्सनालिटी’ उर्मिला मगर, थर्ड रनरअप सिता पुरी भएकी थिइन् भने अर्गनाइजर च्वाइस अवार्ड रईशा चौधरीलाई दिइएको थियो । विवाहित महिलाहरूलाई आफ्नो लुकेको प्रतिभा देखाउने र समाजमा नयाँ पहिचान बनाउने यो एक सुनौलो अवसर भएको आयोजकको दाबी छ । अडिसनको मिति र स्थानबारे छिट्टै विस्तृत जानकारी गराइनेछ ।