काठमाडौं, असार १७ । जीवन र मृत्युको दोसाँधमा उभिएका बेला मानिसले केवल आफ्नै अस्तित्व रक्षाको सोच्छ। तर, चितवनको सडकमा एउटा गुडिरहेको माइक्रोबसभित्र बुधबार एउटा यस्तो अकल्पनीय दृश्य देखियो, जहाँ मृत्युको नजिक पुग्दै गरेका एक चालकले आफ्नो प्राण त्याग्नुअघि गाडीमा सवार १४ जना यात्रुको जीवन सुरक्षित गराए।
नारायणगढबाट वीरगञ्जतर्फ १४ जना यात्रु बोकेर हुइँकिएको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको विद्युतीय माइक्रोबसका चालक ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीका लागि त्यो यात्रा जीवनकै अन्तिम यात्रा बन्ला भनेर कसैले सोचेका थिएनन्। रत्ननगरको टिकौली पुल नजिक आइपुग्दा चालक बुढाथोकीले पानी पिएका थिए। त्यसको केही क्षणमै उनको छातीमा असहजता सुरु भयो। मुटुभित्र अचानक सुरु भएको तीव्र पीडाले उनलाई छटपटी भइरहेको थियो। गाडी तीव्र गतिमा गुडिरहेको थियो, अगाडि स्टेरिङ थियो र पछाडि १४ जना निर्दोष यात्रुहरूको भरोसा।
आफ्नो आँखा धमिलो हुँदै जाँदा र मुटुले काम गर्न छोड्दै गर्दा पनि बाराका ती ५५ वर्षीय वीर चालकले हिम्मत हारेनन्। उनले अलिकति पनि नियन्त्रण गुमाएको भए गाडी पल्टिन सक्थ्यो, ठूलो दुर्घटना हुन सक्थ्यो। तर, बुढाथोकीले आफ्नो अन्तिम ऊर्जा र संयमतालाई एकत्रित गरे। उनले माइक्रोलाई बिस्तारै सडकको सुरक्षित छेउतर्फ लगे र रत्ननगरस्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक पुर्याएर पूर्ण रूपमा रोके।
गाडी रोकिएलगत्तै उनी हिक्क–हिक्क गर्दै स्टेरिङमै ढले। यात्रु र स्थानीयले उनलाई तत्कालै अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरिदिए। चिकित्सकका अनुसार उनलाई हृदयघात भएको थियो। बुढाथोकीले संसार त छोडे, तर आफ्नो कर्तव्य देखाएर गए। उनले अन्तिम क्षणसम्म देखाएको धैर्यता र वीरताका कारण माइक्रोमा सवार सबै १४ जना यात्रु सकुशल छन्।



प्रतिक्रिया