पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि के थियो आरोप ?


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो।

जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको बताइएको छ। यद्यपि, उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले खुलाएकाे छैन।

को हुन् चोलेन्द्र शम्शेर जबरा ?

चोलेन्द्र शम्शेर जबरा राणा परिवारका सदस्य हुन्। उनी राणा प्रधानमन्त्री वीरशम्शेर जबराका चौथो पुस्ताका सन्तान हुन्। उनका पिता युवराज शम्शेर तत्कालीन राजसभा स्थायी समितिका सदस्य थिए।

वकालत पेसाबाट न्याय क्षेत्रमा प्रवेश गरेका जबरा २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। लामो समय अस्थायी न्यायाधीशका रूपमा काम गरेका उनी विशेष अदालतको सदस्यसमेत बने।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश रहेका बेला २०७१ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। सर्वोच्चको न्यायाधीशका रूपमा काम गरेपछि २०७५ पुस १८ गते उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाले।

उनको कार्यकालमा मन्त्रिपरिषद्मा भागबण्डा, न्यायिक नियुक्ति तथा मुद्दाको पेसी व्यवस्थापनलगायत विषयमा प्रश्न उठेका थिए। उनलाई पदबाट हटाउनुपर्ने माग गर्दै कानुन व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए।

महाअभियोगपछि निलम्बन

जबराविरुद्ध २०७८ फागुनमा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएपछि उनी प्रधानन्यायाधीशको जिम्मेवारीबाट निलम्बनमा परे ।

महाअभियोग सिफारिस समितिले उनीमाथि लागेका आरोपबारे छानबिन गर्दै बयानसमेत लियो। समितिले विभिन्न आरोपमाथि अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो।

तर संसद्को कार्यकाल तथा राजनीतिक घटनाक्रमका कारण महाअभियोग प्रक्रिया अन्तिम निष्कर्षमा पुग्न सकेन। त्यसपछि जबराको प्रधानन्यायाधीशका रूपमा कार्यकाल पनि समाप्त भयो।

जबराले करिब चार वर्ष सर्वोच्च अदालतको नेतृत्व गरेका थिए ।