सिंहदरबार घेराउ गर्न निस्किएका दृष्टिविहीनलाई प्रहरीले बीच बाटोमै रोक्यो


काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलाबाट सिंहदरबार घेराउ गर्न निस्किएका दृष्टिविहीनहरूलाई प्रहरीले बीच बाटोमै रोकेको छ । लामो समयदेखि माइतीघरमा धर्ना दिँदै आएका उनीहरू बिहीबार सिंहदरबार घेराउ गर्ने योजनासहित अघि बढेका थिए ।

प्रहरीले उनीहरूलाई बीच बाटोमै रोकेर अघि बढ्न नदिएको आन्दोलनरत पक्षले जनाएको छ । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै दृष्टिविहीनहरूले दबाब स्वरूप सिंहदरबार घेराउ गर्ने रणनीति बनाएका थिए ।

काठमाडौँका सडकपेटीमा स्वरोजगारमूलक काम गर्दै आएका उनीहरूले स्थानीय प्रशासन र सरकारले व्यवसाय गर्न नदिएको आरोप लगाउँदै ११ दिनदेखि धर्ना जारी राखेका छन् । आन्दोलनरत दृष्टिविहीनहरूले सम्मानजनक व्यवस्थापन, योग्यता र क्षमताका आधारमा रोजगारीको अवसर, सडक सङ्गीत र स्वरोजगारमूलक पेसा निर्बाध रूपमा सञ्चालन गर्न पाउने व्यवस्थाका साथै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने माग अघि सारेका छन् ।

आन्दोलनकारी साधन सुब्बाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले यसअघि बुधबार नेकपा (एमाले) केन्द्रीय कार्यालय अगाडि पनि धर्ना दिइएको जानकारी दिए ।