नागर्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, उपत्यका जलमग्न


काठमाडौं, १८ असार । आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा(चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो अभिलेखअनुसार कञ्चनपुरपछि कपिलवस्तुमा ११८ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा पनि भारी नजिक वर्षा भएको छ । विभागका अनुसार काठमाडौंको नागर्जुन क्षेत्रमा ४६ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै सुन्दरीजलमा ४२ दशमलव आठ, कपन र बबरमहल क्षेत्रमा ३५–३५ र बूढानीलकण्ठमा १५ मिलिमिटर वर्षा भएको छ । ललितपुर र भक्तपुरमा भने मध्यम मात्रै वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार कास्की र दाङमा पनि भारी वर्षा भएको छ । आज काठमाडौंमा भएको वर्षाका कारण कतिपय ठाउँ जलमग्न भएका छन् ।

अहिले पनि सडकमा पानी जमेकाले यात्रुले सहज रूपमा यातायातका साधन साउन नसकेका भन्दै आवागमन सहज बनाउन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। केहीबेर अघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी अविरल वर्षाका कारण उपत्यकाका विभिन्न सडकखण्डमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको जानकारी दिएको छ ।

प्रतिकूल मौसममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नागरिकको सहजताका निरन्तर सडकमा खटिइ सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गरिरहेका छन् । यसैबीच, यात्राका क्रममा आवश्यक सजगता अपनाउन र सुरक्षित रहन कार्यालयले सबैमा अनुरोध गरेको छ ।