बर्डफ्लु प्रभावित किसानलाई दिन ५० करोड निकासा


काठमाडौं, असार १९ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ ।

मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो ।

विभागका प्रवक्ता डा मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए ।

विभागका अनुसार बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट ७० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा देखिएको छ ।