काठमाडौं, असार १९ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै तह ५ देखि तह ९ सम्मका विभिन्न पदमा योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको हो।
सूचनाअनुसार वरिष्ठ प्रबन्धक (तह ९), प्रबन्धक (तह ८), उपप्रबन्धक (तह ७) तथा प्रशासन, कानुन, सूचना प्रविधि (आईटी), लेखा, कृषि र इन्जिनियरिङ समूहका सहायक प्रबन्धक (तह ६) पदमा कर्मचारी भर्ना गरिनेछ। साथै, सातै प्रदेशका विभिन्न कार्यालयका लागि प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहका वरिष्ठ सहायक (तह ५) पदमा पनि उल्लेख्य संख्यामा कर्मचारी माग गरिएको छ। पदअनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।
उमेरको हद अधिकृत स्तर (तह ६–९) का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा सहायक स्तर (तह ५) का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका लागि माथिल्लो उमेर सीमा ४० वर्षसम्म कायम गरिएको छ भने बैंकमा कार्यरत कर्मचारीलाई उमेरको हद लागू नहुने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारले राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् साउन ८ गते सम्म तोकिएको छ। सो अवधिपछि थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
परीक्षा शुल्क मोबाइल बैंकिङ वा अन्य अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। लिखित परीक्षा, आवश्यकताअनुसार प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उम्मेदवार छनोट गरिने बैंकले जनाएको छ।
परीक्षाको मिति, परीक्षा केन्द्र तथा विस्तृत पाठ्यक्रम बैंकको आधिकारिक वेबसाइटमार्फत पछि सार्वजनिक गरिनेछ। थप जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयस्थित मानव संसाधन विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।




प्रतिक्रिया