काठमाडौं– सरकारले बर्डफ्लु रोगका कारण ठूलो आर्थिक क्षति ब्यहोरेका ११ जिल्लाका किसानलाई ५० करोड रुपैयाँ क्षतिपूर्ति बाँड्ने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले राहत स्वरूप उक्त रकम पशुसेवा विभागलाई निकासा गरेको हो।
मन्त्रालयले बर्डफ्लु पुष्टि भएका जिल्लाहरूमा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरमार्फत उक्त बजेट विभागलाई पठाएको हो। विभागले क्षति बेहोरेका किसानलाई राहत दिन मन्त्रालयसँग बजेट माग गरेको थियो।
पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट प्रभावित किसानले प्रमाणित क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाउनेछन्।
कहाँ कति भयो क्षति ?
विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको थियो। सो क्रममा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको थियो। जसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान छ।
बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) आदेश २०७४ अनुसार प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था छ।
गत चैतदेखि पूर्वी नेपालबाट फैलिन थालेको बर्डफ्लु हाल ११ जिल्लामा देखिइसकेको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोक्न पन्छी, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ।
रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ समेत स्थापना गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा निगरानीका कामलाई तीव्रता दिइएको विभागले उल्लेख गरेको छ।



प्रतिक्रिया