काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार पक्राउ प्रकरणमा सरकारका सल्लाहकार र प्रहरीको अभिव्यक्तिबीच विरोधाभास देखिएको टिप्पणी गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शिवाकोटीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आदेश पठाउने तर अर्का सल्लाहकारले घटनाबारे आफूलाई थाहा नभएको बताउने गरेको उल्लेख गरे।
‘प्रधानमन्त्रीको प्रमुख सल्लाहकार आदेश पठाउँछ, अर्को सल्लाहकार थाहा छैन भन्छ। त्यस्तै प्रहरी पनि पक्राउ गरेको होइन भन्छ,’ उनले भने।
शिवाकोटीले सरकारले राज्य संयन्त्र प्रयोग गरेर मिडियाको आवाज बन्द गर्न खोजेको आरोप लगाए। अदालत, अख्तियार, प्रहरी र सञ्चारमाध्यममाथि नियन्त्रण कायम गर्ने प्रयास दुःखद भएको उनको भनाइ थियो।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई नौ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा राखेर अपमान गरिएको आरोप लगाउँदै पत्रकार पक्राउ प्रकरणलाई त्यसैको निरन्तरताका रूपमा व्याख्या गरे।
सरकार सही बाटोमा नहिँडेको टिप्पणी गर्दै उनले नेपाली कांग्रेस लामो समयदेखि प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताए।




प्रतिक्रिया