काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो सङ्गठनात्मक संरचनालाई भद्दा बनाउँदै केन्द्रीय विभागहरूको सङ्ख्या बढाएर ४७ पुर्याएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीको नियमावली– २०८३ पारित गर्दै यो निर्णय गरेको हो ।
मुलुकमा दलहरू सानो र छरितो कमिटी बनाउने बहसमा जुटिरहेका बेला नेकपाले भने नेता व्यवस्थापनका नाममा ठूलो सङ्ख्यामा विभागहरू थपेको छ ।
यसअघि एकता प्रक्रियामा सामेल साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दुवै दलमा समान ३२–३२ वटा केन्द्रीय विभागहरू अस्तित्वमा थिए । एकतासँगै ती विभागहरूको सङ्ख्या घटाएर छरितो र कार्यमूलक बनाउनुपर्ने आवाज पार्टीभित्रै उठिरहेको थियो । तर, आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनमा नेताहरूलाई चित्त बुझाउनकै लागि नियमावलीमार्फत थप १५ वटा विभाग बढाएर कुल सङ्ख्या ४७ पुर्याइएको स्रोतले जनाएको छ ।
नयाँ स्वीकृत नियमावली–२०८३ बमोजिम नै पार्टी शीर्ष नेतृत्वले नेताहरूको विभागीय जिम्मेवारीसमेत बाँडफाँड गरिसकेको छ ।
कम्युनिस्ट पार्टीहरूमा विभागहरूलाई नीति निर्माण र अध्ययन–अनुसन्धानको थिङ्क ट्याङ्क मानिन्छ । तर, नेपालका कम्युनिस्ट पार्टीहरूमा विभागको सङ्ख्या बढाउनु नीतिगत आवश्यकताभन्दा पनि असन्तुष्ट नेताहरूलाई पद र जिम्मेवारीको भागबन्डा पुर्याउने सजिलो अस्त्र बन्दै आएको छ । साविकका ३२ विभागलाई नै चुस्त बनाएर लैजानुको साटो १५ वटा नयाँ विभाग थपेर ४७ पुर्याउनुले नेकपा पनि पुरानै भागबन्डा र जम्बो संस्कृतिको रोगबाट मुक्त हुन नसकेको स्पष्ट पार्छ । यसले पार्टीलाई गतिलो नीति दिनेभन्दा पनि संगठनात्मक बोझ मात्रै बढाउने निश्चित देखिन्छ ।




प्रतिक्रिया