नागरिक आन्दोलनको नयाँ मियो ऋषि धमला: किन उत्रिए मैदानमा ?


काठमाडौँ । नेपाली सञ्चारजगतमा विगत तीन दशकदेखि चौबीसै घण्टा एक्सनमा रहने एउटै मात्र नाम हो– ऋषि धमला । माइक र क्यामराको माध्यमबाट देशका शक्तिशाली शासकदेखि गाउँका भुइँमान्छेसम्मको आवाजलाई सीधै सिंहदरबार पुर्‍याउने धमला अब पत्रकारिताको परिधिभन्दा माथि उठेर देशको एउटा बलियो नागरिक संवाहकका रूपमा मैदानमा उत्रिएका छन् ।

काठमाडौँको प्रज्ञा भवनमा तीन करोड नेपाली जनताको साझा आवाज बोक्ने उद्देश्यका साथ उनकै अध्यक्षतामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ को औपचारिक घोषणा भएसँगै नेपाली राजनीति र सामाजिक रूपान्तरणमा एउटा नयाँ तरङ्ग पैदा भएको छ ।

शनिबार काठमाडौँको माइतीघर मण्डलामा अभियन्ताहरूसहित उपस्थित भएका धमलाले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको वस्तुनिष्ठ समीक्षा मात्र गरेनन्, देशलाई मार्गनिर्देश गर्ने दूरगामी एजेन्डाहरूसमेत अघि सारेका छन् ।
विगत ३५ वर्षमा देशले थुप्रै राजनीतिक परिवर्तन देख्यो, तर सुशासन, रोजगारी र समृद्धिको अनुभूति आम नागरिकले गर्न पाएनन् । उद्योगधन्दा बन्द हुनु, युवा पुस्ता विदेशिन बाध्य हुनु र भ्रष्टाचार संस्थागत हुनुले पुराना दल र नेतृत्व असफल भइसकेको विश्लेषण गरिएको छ ।

ठ्याक्कै यही शून्यताका बीच ऋषि धमलाको नेतृत्वमा स्वतन्त्र नागरिक अभियानको उदय भएको हो । यस अभियानको मुख्य उद्देश्य ‘समयमै काम, तत्काल परिणाम’ सुनिश्चित गर्नु हो । यो अभियान सरकार ढाल्ने खेलमा लाग्ने छैन, बरु जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई रचनात्मक सहयोग र बलियो दबाब दिने एउटा देशव्यापी एक्सन ओरिएन्टेड साझा चौतारी बन्ने संकल्पका साथ मैदानमा आएको देखिन्छ ।

माइतीघर मण्डलाको सडकबाटै धमलाले प्रधानमन्त्री बालेन शाहको सरकारलाई १०० मा ७५ अङ्क अर्थात् ७५ प्रतिशत मार्क दिँदै कार्यसम्पादन सन्तोषजनक रहेको घोषणा गरे । सरकारले आफ्नो सय बुँदे प्राथमिकतामध्ये करिब ३३ प्रतिशत कामहरू सफलतापूर्वक सम्पन्न गरेकोमा सराहना गर्दै धमलाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा सुधारका सङ्केतहरू देखिएको बताए ।
चर्चित पत्रकार धमलाले भने, ‘प्रधानमन्त्री बालेन शाहको सरकारले सुशासन कायम गर्न र भ्रष्टाचारीहरूमाथि कानुनी डन्डा चलाएर जनतामा आशा जगाएको छ, यसलाई अझै प्रभावकारी बनाउनुपर्छ ।’
वर्तमान समय नयाँ पुस्ता अर्थात् जेनजीको हो, जो ढिलासुस्ती र कोरा सिद्धान्त मन पराउँदैनन् । धमलाले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको निःशुल्क र सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने तथा शहीद परिवारलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् । युवाहरूलाई देशमै रोजगारी दिएर रोक्नका लागि बालेन सरकार गम्भीर हुनुपर्ने र नयाँ पुस्ताको भावनाअनुसार अगाडि बढ्नुपर्ने धमलाको यो अडानले उनलाई युवा पुस्ताको ढुकढुकी बनाएको छ ।
देशको दीर्घकालीन विकास र राजनीतिक स्थिरताका लागि धमलाले अघि सारेका एजेन्डाहरू अहिले राष्ट्रिय बहसको केन्द्रबिन्दु बनेका छन्–

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति– देशमा राजनीतिक अस्थिरताको अन्त्य गर्न कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने अभियानको मुख्य माग हो ।

गैरदलीय स्थानीय निर्वाचन– स्थानीय तहमा राजनीतिक दलभन्दा सक्षम र योग्य स्वतन्त्र व्यक्तिहरू आउनुपर्छ । धमलाले उठाएको यो एजेन्डाले अहिले देशव्यापी रूपमा नागरिकको समर्थन पाइरहेको छ ।

संविधान संशोधनमा राष्ट्रिय सहमति– देशको विकास र समृद्धिका लागि संविधान संशोधन जस्तो संवेदनशील विषयमा सबै दलहरूबीच अनिवार्य सहमति हुनुपर्छ ।

संघीयताको सुदृढीकरण– केन्द्रले प्रदेशहरूलाई थप अधिकार र स्वायत्तता दिएर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्छ ।

अध्यक्ष धमला राजनीतिक मुद्दामा मात्र सीमित छैनन् । उनले धार्मिक रूपमा महत्त्वपूर्ण र अक्सिजनको अथाह स्रोत मानिने बर र पीपल जस्ता वृक्षहरूको संरक्षणमा जोड दिँदै माइतीघरमा पीपलको बिरुवासमेत रोपेका छन् । पीपललाई राष्ट्रिय रुख घोषणा गर्नुपर्ने उनको मागले नेपाली संस्कृति र पर्यावरणप्रतिको उनको अगाध प्रेम र दूरदर्शितालाई झल्काउँछ ।
विगतमा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे र मथुराप्रसाद श्रेष्ठ जस्ता दिग्गजहरूले नेतृत्व गरेको नागरिक समाज पछिल्लो समय सुस्ताएको भान आम भुइँमान्छेलाई भइरहेको थियो । ठ्याक्कै यही बेला प्रा. डा. सुरेन्द्र केसी, पूर्वमुख्यसचिव विमल कोइराला र पूर्वप्रशासक कुमार दाहाल जस्ता देशका मूर्धन्य बौद्धिक व्यक्तित्वहरूले समेत ऋषि धमलालाई नै योग्य कमाण्डर स्वीकार गरिसकेका छन् ।

मिडियामा सधैँ तिखो प्रश्न गर्ने आफ्नो आक्रामक शैलीलाई अब धमलाले राज्यका अंगहरूमा हुने भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित गर्न थालेका छन् । बालेन सरकारलाई सही बाटो देखाउने र ७५३ वटै स्थानीय तहका वडास्तरसम्म पुगेर नागरिकको सुख–दुःखमा २४ सै घण्टा उभिने धमलाको यो संकल्प ऐतिहासिक छ ।

नयाँ पुस्ताको भरोसा, दिग्गजहरूको साथ र भुइँमान्छेको मुद्दा बोकेका ऋषि धमला अब एक चर्चित पत्रकार मात्र रहेनन्, उनी नेपाली नागरिक आन्दोलनको नयाँ मियो र आम नेपालीका साझा नेताका रूपमा उदाएका छन् । धमलाको नेतृत्वको यो स्वतन्त्र नागरिक अभियानले नेपाली इतिहासमा एउटा सुनौलो र ऐतिहासिक अध्याय कोर्ने निश्चित छ ।