सरकारको १०० दिन: ७५ अंकसहित धमलाद्वारा प्रशंसा,’जेनजी’ का माग पूरा गर्न आग्रह


काठमाडौँ, असार २० । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचार विरोधी अभियानमा चालेका कदमहरू सकारात्मक रहेको बताएका छन्। 

सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आज माइतीघर मण्डलामा आयोजित समीक्षा कार्यक्रममा बोल्दै धमलाले सरकारले अझै प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए।

​पत्रकारको जिज्ञासाको जवाफ दिँदै संयोजक धमलाले सरकारको १०० दिनको कार्यलाई १०० मा ७५ अंक (७५ प्रतिशत) दिँदै काम सन्तोषजनक रहेको टिप्पणी गरे।

 सरकारले आफ्नो सय बुँदे प्राथमिकतामध्ये करिब एक तिहाइ (३३ प्रतिशत) कामहरू सफलतापूर्वक सम्पन्न गरेको दाबी गर्दै उनले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा सुधारका ससंकेतहरू देखिएको बताए।

​`प्रधानमन्त्री बालेन शाहको सरकारले सुशासन कायम गर्न र भ्रष्टाचारीहरूमाथि कानुनी डन्डा चलाएर जनतामा आशा जगाएको छ´, उनले भने ।

​​’जेनजी’ को माग, घाइतेको उपचार र शहिद परिवारलाई रोजगारीको व्यवस्था गर्न सरकारलाई आग्रह 

​ धमलाले युवा पुस्ता (जेनजी) का मुद्दाहरूलाई अझै पूर्ण रूपमा सम्बोधन गर्न नसकेको भन्दै उनीहरूको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरे । वर्तमान सरकार ले जेनजी युवाहरुको मागलाई वेवास्ता गर्न नहुने उनको भनाइ छ । सरकार जेनजीको भावना र मर्म अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले आन्दोलनका शहिदहरुलाई सम्मान हुनुपर्ने बताए।

​सरकार समक्ष धमलाले राखेको मागहरू :

घाइते जेनजीहरूको नि:शुल्क उपचारगत २०८२ भदौ २३ र २४ को आन्दोलनका क्रममा घाइते भएका युवाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने।

शहिद परिवारलाई रोजगारी: जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरूको सम्मान गर्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गरिनुपर्ने।

​धमलाले देशको दीर्घकालीन विकासका लागि मुख्य राजनीतिक एजेन्डाहरू यसरी प्रस्तुत गरे:

संविधान संशोधनमा राष्ट्रिय सहमति: संविधान संशोधन जस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलहरूबीच अनिवार्य रूपमा राष्ट्रिय सहमति हुनुपर्छ। साथै देश विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुनु आवश्यक रहेकाे उनले बताए ।

गैरदलीय स्थानीय निर्वाचनआगामी स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताए । देशका विभिन्न जिल्लामा पुग्दा दलका उम्मेदवारहरुले उल्लेखनीय काम गर्न नसकेको उनले बताए । स्थानीय तहको विकास र समृद्धिको लागि सक्षम र योग्य व्यक्ति उम्मेदवार बन्नुपर्ने उनको भनाइ छ ।

​प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिदेशमा राजनीतिक स्थिरताका लागि कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने उनले बताए । यो स्वतन्त्र नागरिक अभियानको मुख्य एजेन्डा समेत रहेको उनले स्पष्ट पारे।

​संघीयताको सुदृढीकरणसंघीय व्यवस्थालाई बलियो बनाउनका लागि केन्द्रले प्रदेशहरूलाई थप अधिकार र स्वायत्तता दिनुपर्ने उनले बताए ।