अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै महानगर


काठमाडौं, असार २० । काठमाडौं महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका लागि १० जना उम्मेदवार छनोट गर्ने तयारी गरेको छ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्तिको तयारी गरेको हो। आयोगका सचिवालय प्रमुख नवराज थापाका अनुसार सहरी योजना आयोगले अहिले ‘महानगर अनुसन्धान शोधवृत्ति’का उम्मेदवार छनोटका लागि अन्तर्वार्ता र प्रस्तावसम्बन्धी प्रस्तुतीकरण सत्र सञ्चालन गरिरहेको छ। महानगरपालिकाले गएको पुस १ गते १० वटा विषयमा अनुसन्धान गर्न शोधकर्ताहरूका लागि प्रस्ताव आह्वान गरेको थियो। अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम र आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको छ।

अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा दुई वर्षको अनुभव भएका अनुसन्धानकर्ताहरूबाट तोकिएका क्षेत्रमा अनुसन्धान गर्न बढीमा १५ पृष्ठसम्मको प्रस्ताव माग गरिएको थियो। उक्त प्रस्तावमा अनुसन्धानको पृष्ठभूमि, विधि, क्षेत्र, सीमा, कार्यतालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभावलगायतका विषय समावेश गर्नुपर्ने सर्त राखिएको छ। शोधवृत्तिका लागि छानिन भाषागत रूपमा नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ।

अनुसन्धानका लागि ६ महिनाको अवधि प्रदान गरिनेछ भने यस अवधिभित्र आवेदकले चार पटक प्रस्तुतीकरण गर्नुपर्नेछ। अनुसन्धातालाई करसहित १ लाख ५० हजार रूपैयाँ उपलब्ध गराइनेछ, जसबाट अनुसन्धान र लेखनलगायतका काम गर्नुपर्नेछ। यो रकम चार किस्तामा भुक्तानी हुनेछ। अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतीकरण र प्रतिवेदन पेस भएपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदन पेस गरेपछि ३० प्रतिशत र आयोगले आयोजना गरेको कार्यशालामा अन्तिम प्रतिवेदन प्रस्तुतीकरण तथा पेस गरेपछि बाँकी २० प्रतिशत रकम भुक्तानी गरिनेछ।

यस वर्षका लागि सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, महानगरको पहिचानमा सांस्कृतिक विविधता, गुणस्तरीय सहरी बसोबास, आर्थिक समृद्धिका लागि नवप्रवर्तन, र सहरी यातायात प्रणालीको पूर्वाधारलाई क्षेत्रगत शोध विषयका रूपमा चयन गरिएको छ। त्यस्तै वातावरण, जलवायु र उत्थानशीलता, सामाजिक समावेशीकरण र समता, शिक्षा तथा सांस्कृतिक आदानप्रदान, सुरक्षा, स्वास्थ्य र कल्याणका साथै तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई पनि शोध विषय बनाइएको छ।