ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने संकल्पसहित धादिङका थपलिया चुनावी मैदानमा


काठमाडौं । नेपालको प्रमुख पर्यटकीय मुटु ठमेललाई पुरानै लयमा फर्काउने र यसको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउने बहस चुलिएका बेला ठमेल पर्यटन विकास परिषद्को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । परिषद्को आसन्न ३० र ३१औँ साधारणसभा तथा निर्वाचनको संघारमा नेतृत्वका लागि आकांक्षीहरू मैदानमा उत्रिने क्रम तीव्र बनेको छ । यसैबीच, विगत एक दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशील धादिङका युवा पर्यटन व्यवसायी एवं बुद्ध होम नेपाल प्रालिका सञ्चालक प्रकाश थपलियाले ‘सचिव’ पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन् ।
विदेशी भूमिका आकर्षक अवसरहरूलाई लत्याएर ‘आफ्नै माटोमा केही गर्नुपर्छ’ भन्ने हुटहुटी बोकेका थपलिया नेपालको पर्यटन प्रवर्द्धनमा एउटा स्थापित नाम हो । राष्ट्रिय भावना बोकेका उनी विगत लामो समयदेखि व्यवसायिकसँगै सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहँदै आएका छन् ।
ठमेलको भूगोल, स्थानीय व्यवसायीका पीरमर्का र यस क्षेत्रको सम्भावनालाई थपलियाले नजिकबाट नियालेका छन् । उनले विगत चार वर्षदेखि ठमेल पर्यटन विकास परिषद्को भित्री संचरनामा बसेर कुशलतापूर्वक जिम्मेवारी निभाइसकेका छन् ।
परिषद्को कार्यसमितिमा शुरुका दुई वर्ष ‘सदस्य’ र त्यसपछिको दुई वर्ष ‘कोषाध्यक्ष’को रूपमा उनले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको व्यवसायीहरू बताउँछन् । कोषाध्यक्ष रहँदा उनले संस्थागत सुशासन, पारदर्शी आर्थिक अनुशासन र पर्यटन व्यवसायीहरूबीच आपसी सहकार्यको वातावरण निर्माण गर्न उल्लेखनीय योगदान दिएका थिए ।
सचिव पदमा उम्मेदवारी घोषणा गर्दै थपलियाले ठमेललाई एउटा व्यापारिक केन्द्र मात्र नभई अझ बढी व्यवस्थित, सुरक्षित, स्वच्छ र अन्तर्राष्ट्रिय मापदण्डको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने संकल्प अघि सारेका छन् ।
‘ठमेललाई चौबीसै घण्टा जीवन्त र सुरक्षित राख्न, स्थानीय समुदाय र व्यवसायीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा राज्यका सरोकारवाला निकायसँग बलियो लबिङ गर्न मेरो उम्मेदवारी हो,’ थपलियाले आफ्नो प्रतिबद्धता जनाउँदै भने ।
ठमेलका आम पर्यटन व्यवसायीहरूका अनुसार थपलियाको चुनावी पल्ला भारी देखिनुमा उनको विगतको ‘ट्र्याक रेकर्ड’ मुख्य कारण हो । उनको कार्यअनुभव, आर्थिक पारदर्शिता, युवा जोश र पर्यटन क्षेत्रप्रतिको दीर्घकालीन समर्पणकै कारण उनलाई यसपटकको निर्वाचनमा सचिव पदको सबैभन्दा बलियो र साझा उम्मेदवारका रूपमा हेरिएको छ ।
परिषद्को आसन्न निर्वाचनले चयन गर्ने नयाँ नेतृत्वले समग्र ठमेलको मात्र नभई सुस्ताएको देशकै पर्यटन उद्योगलाई नयाँ ऊर्जा थप्ने विश्वास आम व्यवसायीले गरेका छन् ।