अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसः नेसनल मलबाट ट्रम्पको साम्यवादविरुद्ध कडा गर्जन


काठमाडौँ । संयुक्त राज्य अमेरिका स्थापनाको ऐतिहासिक २५०औँ स्वतन्त्रता दिवसका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साम्यवाद (कम्युनिज्म) विरुद्ध निकै आक्रामक र कडा अभिव्यक्ति दिएका छन् । वासिङ्टन डीसीस्थित नेसनल मलमा आयोजित भव्य राष्ट्रिय समारोहलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकी भूमिमा कम्युनिस्ट विचारधाराका लागि कुनै स्थान नभएको स्पष्ट पारेका हुन् ।

विश्व राजनीतिको शक्ति सन्तुलन र विचारधाराको लडाइँ चलिरहेका बेला अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्तिलाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनका क्रममा अमेरिकी इतिहास र यसको मौलिक पूँजीवादी व्यवस्थाको रक्षा गर्ने कसम खाए । साम्यवादलाई अमेरिकी मूल्य–मान्यताको बाधकका रूपमा चित्रण गर्दै उनले प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा अमेरिका सधैँ अडिग रहने दाबी गरे ।

“हामी हाम्रो देशमा कम्युनिस्टहरू चाहँदैनौँ । साम्यवाद सधैँ हारेको इतिहास छ र यो सधैँ हारिरहनेछ । यो विचार र व्यवस्था अमेरिकी प्रणालीको पूर्ण रूपमा विपरीत छ,” ट्रम्पले दक्षिणपन्थी राष्ट्रवादलाई प्रवर्द्धन गर्दै भने ।

उनले अमेरिकी सैनिकहरूले इतिहासभरि विश्वका विभिन्न कुना र मोर्चामा साम्यवादविरुद्ध लड्दै रगत बगाएको स्मरणसमेत गरे । कम्युनिस्ट विचारधाराले अमेरिकाभित्र कहिल्यै पनि जरा गाड्न नसकोस् भन्ने आफ्नो मुख्य उद्देश्य र नीति रहेको उनको भनाइ थियो ।
राष्ट्रपति ट्रम्पको सम्बोधनलगत्तै नेसनल मलको आकाश करिब ४० मिनेटसम्म रंगीचंगी प्रकाशले झिलिमिली बनेको थियो । ह्वाइट हाउसले सार्वजनिक गरेअनुसार यस वर्षको उत्सवलाई अविस्मरणीय बनाउन ८ लाख ५० हजारभन्दा बढी आतिशबाजी प्रज्वलन गरिएको थियो ।
यो प्रदर्शनलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो र भव्य स्वतन्त्रता दिवस आतिशबाजीका रूपमा प्रस्तुत गरिएको छ, जसले वासिङ्टन पुगेका लाखौँ नागरिकलाई मन्त्रमुग्ध पारेको थियो ।
सन् १७७६ को जुलाई ४ मा अमेरिकाका तत्कालीन १३ वटा ब्रिटिस उपनिवेशहरूले बेलायती साम्राज्यबाट अलग हुने ऐतिहासिक निर्णय गर्दै स्वतन्त्रताको घोषणा गरेका थिए । सोही ऐतिहासिक दिनको सम्झनामा अमेरिकाले हरेक वर्ष जुलाई ४ लाई आफ्नो राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।
यसवर्ष अमेरिका स्थापनाको साढे दुई शताब्दी पुगेको अवसरमा यो उत्सवलाई विशेष रूपमा ‘अमेरिका २५०’ नाम दिएर देशभर महाउत्सवका रूपमा मनाइएको छ ।