‘प्रधानमन्त्री बालेन सिंहदरबारको काममा केन्द्रित हुनु सकारात्मक’– गगन थापा


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको सय दिने कार्यकालको कार्यशैली सकारात्मक रहेको टिप्पणी गरेका छन्। बालुवाटारको राजनीतिक व्यवस्थापनभन्दा सिंहदरबारमा बसेर शासकीय जिम्मेवारी पूरा गर्न बढी ध्यान दिनु सुखद् पक्ष भएको थापाको भनाइ छ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सरकारको सय दिने कार्यकालको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको पछिल्लो कार्यशैलीको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन शुभेच्छासमेत प्रकट गरे।
कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको कार्यशैलीको प्रशंसा मात्र गरेनन्, विगतमा आफ्नै पार्टी संलग्न भएका सरकारहरूको कमजोरीसमेत खुलारूपमा स्वीकार गरे। विगतका प्रधानमन्त्रीहरू देशको कार्यकारी प्रमुखभन्दा दल वा गठबन्धनको नेताका रूपमा बढी खुम्चिएको उनको भनाइ थियो।
‘योभन्दा अगाडि हाम्रै पार्टीका आदरणीय सभापति प्रधानमन्त्री हुँदा होस् वा हाम्रो समर्थनमा फरक राजनीतिक दलका प्रधानमन्त्री हुँदा होस्, उहाँहरूको ध्यान सिंहदरबारबाट निर्वाह गर्नुपर्ने भूमिकामा कम र बालुवाटारबाट गरिने राजनीतिक व्यवस्थापनमा बढी हुन्थ्यो,’ थापाले भने, ‘प्रधानमन्त्रीको धेरै समय गठबन्धन राजनीतिको व्यवस्थापन, भागबन्डाको व्यवस्थापन र पार्टीभित्रको आन्तरिक व्यवस्थापनमै बित्ने गरेको थियो।’
यो प्रवृत्तिबारे आफूहरूले निजी संवाद, पार्टी बैठक र संसदमा समेत निरन्तर आवाज उठाउँदै आएको दाबी उनले गरे।
वर्तमान सरकारको सय दिनलाई हेर्दा प्रधानमन्त्री बालेन शाहले काम गर्ने शैलीमा गुणात्मक परिवर्तन ल्याउन खोजेको कांग्रेसको ठम्याइ छ। सिंहदरबारमा बसेर शासकीय र प्रशासनिक जिम्मेवारीलाई प्राथमिकता दिनु नै शाहको बलियो पक्ष रहेको थापाले उल्लेख गरे।
हेर्दा सामान्य लागे पनि देशको कार्यकारी प्रमुखले दलीय राजनीतिको दल–दलबाट माथि उठेर सिंहदरबारलाई आफ्नो कार्यथलो बनाउनुले व्यवस्था र सुशासनमा दूरगामी प्रभाव पार्ने थापाले बताए। ‘प्रधानमन्त्रीको काम गर्ने तरिका सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ। सिंहदरबारमा बसेर गरिने शासकीय जिम्मेवारी नै प्रधानमन्त्रीको प्राथमिकतामा परेको छ,’ उनले थपे।
प्रतिपक्षी बेन्चमा बसेर पनि सरकारको सकारात्मक प्रयासलाई खुला हृदयले स्वागत गर्ने नयाँ राजनीतिक संस्कारको अभ्यास गर्दै सभापति थापाले यस कार्यशैलीको निरन्तरतामा जोड दिएका छन्। ‘यो कार्यशैलीले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने शुभेच्छा प्रकट गर्छु,’ थापाले भने।

सत्ताको बागडोर सम्हालेको सय दिनमा सरकारको गति र नियतमाथि चौतर्फी बहस भइरहँदा, प्रमुख प्रतिपक्षी नेताको यो सन्तुलित टिप्पणीलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। यो प्रशंसाभित्र आगामी दिनमा सिंहदरबारको गति कम भएमा प्रतिपक्षले गर्ने बलियो खबरदारीको संकेत पनि लुकेको बुझ्न सकिन्छ।