काठमाडौँ । उपत्यकाको सडक कति असुरक्षित र अराजक बन्दै गएको छ भन्ने कुरालाई ट्राफिक प्रहरीको पछिल्लो २४ घण्टाको तथ्याङ्कले स्पष्ट ऐना देखाएको छ। सडक अनुशासन मिच्नुलाई बहादुरी ठान्ने चालकहरूको प्रवृत्तिका कारण चौबीस घण्टाभित्रै १ हजार ८१३ सवारीचालक कारबाहीको चक्रव्यूहमा परेका छन्। नियम मिच्नेहरूमाथिको यो डन्डाबाट राज्यकोषमा एकैदिन ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको विवरण अनुसार सडकमा हुने लापरबाहीको फेहरिस्त निकै लामो छ। कारबाहीमा परेकामध्ये ९ जना चालकहरू मापसे गरी स्टेरिङ समातेको अवस्थामा फेला परेका छन्, जसले सडकमा सम्भावित ठूलो दुर्घटनाको जोखिम निम्त्याइरहेका थिए।
एपमा दर्ता नभई वा नियमविपरीत यात्रु ओसारपसार गर्ने १०५ जना राइड सेयरिङ चालकहरू पनि कारबाहीको दायरामा आएका छन्।
त्यस्तै, ट्राफिक बत्ती र गतिको परवाह नगरी सडकमा हुइँकिनेहरूको संख्या पनि सानो छैन। ११९ जनाले सङ्केत बत्ती उल्लङ्घन गरे भने ११५ जनाले तीव्रगतिमा सवारीसाधन कुदाएर कारबाही भोगेका छन्।
उपत्यकाको ट्राफिक जामको मुख्य कडी मानिने ‘लेन’ अनुशासन पालना नगर्ने १०२ जना चालकलाई प्रहरीले सडकमै रोकेको छ। त्यस्तै, शहरलाई कोलाहलमुक्त बनाउने अभियानलाई गिज्याउँदै निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना र पैदलयात्रीको अधिकार खोस्दै सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७ जना कारबाहीमा परेका छन्।
यसबाहेक वान–वे सडकमा सवारी चलाउने ६५ जना र अन्य विविध ट्राफिक नियम पालना नगरेका १ हजार ११० जना चालकहरू प्रहरीको फन्दामा परेका छन्।
प्रहरीले दैनिक रूपमा गर्ने यस्ता कारबाही र संकलन हुने लाखौँको राजस्वले राज्यकोषलाई त बलियो बनाउला, तर यसले हाम्रो सामाजिक चेतना र सडक संस्कारमाथि गम्भीर प्रश्न उठाइरहेको छ। जरिवाना मात्र तिराएर सडक सुरक्षित हुँदैन, चालकहरूमा आत्मअनुशासन र पैदलयात्रीप्रतिको सम्मान नजागेसम्म उपत्यकाको सडक यात्रा सधैँ जोखिमपूर्ण नै रहनेछ।



प्रतिक्रिया