काठमाडौं, असार २१ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका प्रस्ताहन गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ र २४ गते आयोजना हुने पाँचौँ संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन दुबै प्रहरी संगठनका महानिरीक्षक आज त्यसतर्फ प्रस्ताहन गरेका हुन् ।
प्रहरी महानिरीक्षक कार्की र पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूले शुभकामनासहित बिदाइ गरेका थिए ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भावी दिशा, नवीन प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्यको सुदृढीकरण, भाषा तालिममार्फत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई थप प्रभावकारी बनाउने उपाय तथा लैङ्गिक उत्तरदायी प्रहरी प्रणाली लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको नेपाल प्रहरीले जनाएको छ ।
सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम पनि रहेको छ । प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कार्यको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्हाल्नेछन् छ भने सशस्त्र प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी वंशी दाहाललाई दिइएको छ ।



प्रतिक्रिया