धुर्वेको आक्रमणबाट दुई जनाको निधन भएपछि आफ्नो निर्वाचन क्षेत्र पुगिन् कानुनमन्त्री गौतम


काठमाडौं, असार २१ । चितवनमा जंगली हात्ती धुर्वेको आक्रमणबाट चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका–२३ बेलहट्टामा दुई जनाको ज्यान गएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम घटनास्थल पुगेकी छन्। दुर्घटना भएको क्षेत्र मन्त्री गौतमको निर्वाचित क्षेत्र हो ।

मन्त्री गौतमले आइतबार प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै मृतकका परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेकी हुन्। उनले पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउँदै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।

स्थानीय बासिन्दासँगको छलफलमा मन्त्री गौतमले जंगली हात्तीको बढ्दो आतंकका कारण नागरिकले असुरक्षित महसुस गर्नुपरेको अवस्था अन्त्य गर्न सरकार गम्भीर रहेको बताइन्। उनले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने तथा दीर्घकालीन रूपमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि समन्वयात्मक योजना अघि बढाइने उल्लेख गरिन्।

हात्तीको आक्रमणमा दुई जनाको मृत्यु भएपछि स्थानीयवासीले सुरक्षा व्यवस्था सुदृढ बनाउन र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

यस घटनापछि सम्बन्धित निकायले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै जंगली जनावरको आवतजावत हुने क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।