देउवा–शेखर पक्षले भोली सम्पर्क कार्यालय उद्घाटन गर्ने, गगन थापालाई शक्ति देखाउन राष्ट्रिय भेलाको मिति तोक्ने तयारी


काठमाडौं, असार २१ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहले सोमबार काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ।

समूहका शीर्ष नेताहरूको बैठकले शुभ साइत हेरेर सम्पर्क कार्यालय उद्घाटनसँगै आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ। उद्घाटनपछि सोही कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति पनि तय गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्। सम्पर्क कार्यालयको उद्घाटनपछि यो समुहले गगन थापालाई शक्ति देखाउनको लागि राष्ट्रिय भेलाको मीति तोक्नेछ । सातै प्रदेशमा भेला गरेको यो समुहले राष्ट्रिय भेला पनि बोलाउने भएको हो ।

सम्पर्क कार्यालय उद्घाटनलाई आगामी १५औँ महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा देशभरका नेता–कार्यकर्ताबीच समन्वय बढाउने उद्देश्यसँग जोडेर हेरिएको छ। राष्ट्रिय भेलामार्फत पार्टीको भावी रणनीति, संगठन विस्तार तथा आन्तरिक एकताका विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रिय भेलामा हजारौ नेतादेखि कार्यकर्ता उत्राने दाबी गरिएको छ ।

देउवा–शेखर पक्षले सातै प्रदेशमा भएका छलफल र भेलाबाट प्राप्त सुझावलाई राष्ट्रिय भेलामा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। राष्ट्रिय भेलाको मिति सोमबार उद्घाटनपछि बस्ने बैठकले औपचारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ।