राष्ट्रिय सभाको बैठक बस्दै, मन्त्रीहरूले सांसद्को प्रश्नको जवाफ दिने


काठमाडौं, असार २२ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक अपराह्न १२:१५ बजे सुरु हुनेछ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । कार्यसूचीअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय तथा सञ्चार र सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा उठेका विषयमा मन्त्रीहरूले स्पष्टीकरण दिनेछन् ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथि सांसदले उठाएका प्रश्नको पनि जवाफ प्रस्तुत गरिनेछ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि भएको छलफलको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।