काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा देखिएको हो।
सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ कायम गरिएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
पछिल्लो समय विश्व बजारमा बहुमूल्य धातुको मूल्यमा निरन्तर उतारचढाव आइरहेकाले घरेलु बजारमा पनि यसको प्रत्यक्ष असर देखिँदै आएको छ। विवाह तथा चाडबाडको सिजन नजिकिँदै गर्दा मूल्यमा आउने यस्तो गिरावटलाई उपभोक्ताहरूले भने राहतका रूपमा लिएका छन्।



प्रतिक्रिया