नाटो शिखर सम्मेलनअघि किएभमा रुसी आक्रमण


किएभ, २२ असार । टर्कीमा हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । राजधानी किएभ र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको सङ्केत दिएको छ ।

किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमणबाट चारवटा आवासीय भवनमा आगलागी भएको छ । बुचा जिल्लामा सात जनाको र राजधानी क्षेत्रमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । किएभका मेयर भिटाली क्लिट्स्कोले हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको र सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गरे ।

एएफपीका संवाददाताले सोमबार बिहान हवाई हमलाको चेतावनीपछि राजधानीमा लगातार १० भन्दा बढी विस्फोटको आवाज सुनेका थिए । केही समयपछि फेरि आकाशमा चम्किँदै थप विस्फोट भएको देखिएको थियो ।

यसैबीच, मङ्गलबारदेखि टर्कीको अङ्कारामा सुरु हुने नाटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ । त्यसपछि ट्रम्पले शान्ति प्रयासलाई पुनर्जीवित गर्ने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने योजना रहेको ह्वाइट हाउसले जनाएको छ ।

यता युक्रेनले पनि पछिल्ला हप्ताहरूमा रुसभित्रका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । रुसद्वारा नियन्त्रणमा रहेको क्रिमियाको सेवास्तोपोल नजिकै युक्रेनी आक्रमणपछि केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार राजधानीतर्फ आएका युक्रेनी ड्रोनहरू रुसी हवाई सुरक्षाले खसालेको छ ।

युद्धको मैदानमा पनि तनाव कायम छ । राष्ट्रपति जेलेन्स्कीले रणनीतिक महत्त्वको पूर्वी सहर कोस्ट्यान्टिनिभ्काका लागि लडाइँ जारी रहेको बताउँदै उक्त सहर आफ्नो नियन्त्रणमा रहेको रुसको दाबीलाई अस्वीकार गरे । उनले नाटो शिखर सम्मेलनअघि मस्कोले थप ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनीसमेत दिए ।

शनिबार अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति ट्रम्पले पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेको थियो ।