काठमाडौँ । नेपाली पर्यटनको हब ठमेल अचेल चुनावको रापले तातेको छ । ठमेल पर्यटन विकास परिषद्को आगामी असार २७ गते हुने निर्वाचनका लागि चुनावी जोडघटाउ र एजेन्डाहरूको मन्थन शुरु भइसकेको छ ।
यही चुनावी सरगर्मीका बीच ‘चुपचाप काम गर्ने तर परिणाम निकाल्ने’ छवि बनाएका युवा पर्यटन व्यवसायी एवं समाजसेवी पशुपति कँडेलले महासचिव पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेर चुनावी माहौललाई थप रोचक र उत्साहजनक बनाइदिएका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिकाको माटोबाट संघर्ष गर्दै काठमाडौँलाई कर्मथलो बनाएका कँडेल ठमेलका रैथाने व्यवसायीझैँ भिजेका छन् । ठमेलस्थित प्रख्यात आगन्तुक होटल तथा अतिथि होटल एन्ड अपार्टमेन्टका सञ्चालक कँडेल व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका बौद्धिक र दूरदर्शी व्यवसायी हुन् ।
उनी व्यवसायमा मात्र सीमित छैनन्, लायन्स क्लबलगायत विभिन्न सामाजिक संघ–संस्था, रक्तदान अभियान र पर्यटन क्षेत्रका अग्रणी निकायहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेर समाजमा आफ्नो बलियो छाप छोडिसकेका परिपक्व व्यक्तित्व हुन् ।
चुनावी मैदानमा ओर्लिँदै गर्दा कँडेलले निकै घतलाग्दो र व्यावहारिक नारा अघि सारेका छन्– ‘संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व’ ।
‘ठमेल व्यापारिक केन्द्र मात्र होइन, यो सिंगो नेपालकै अन्तर्राष्ट्रिय पहिचान हो,’ आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउँदै कँडेल भन्छन्, ‘यसलाई सफा, सुरक्षित, सभ्य र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो । म कुराभन्दा काममा विश्वास गर्छु र ठमेलका हरेक व्यवसायी तथा घरधनीको सुख–दुःखको सच्चा सारथी बन्न चुनावी मैदानमा आएको हुँ ।’
ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन कँडेलले स्पष्ट र बहुआयामिक १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्, जसलाई ठमेलका व्यवसायीहरूले निकै सकारात्मक रूपमा लिएका छन् । ती हुन्ः
१. ठमेलको ऐतिहासिक गरिमा र प्रमुख पर्यटकीय केन्द्रको आकर्षणलाई थप सुदृढ बनाउने ।
२. यहाँको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने ।
३. विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दिगो विकासको मोडेल लागू गर्ने ।
४. ऐतिहासिक मन्दिर, बहाल, विहार र चोकहरूको संरक्षण गर्दै सम्पदा भ्रमणको अवधारणा ल्याउने ।
५. ठमेलका घरधनी र व्यवसायीबीच आपसी विश्वास, सद्भाव र सहकार्यको बलियो वातावरण सृजना गर्ने ।
६. चौबीसै घण्टा प्रभावकारी शान्तिसुरक्षा, आधुनिक सडक बत्ती, सीसी क्यामेरा जडान, वैज्ञानिक ढल व्यवस्थापन र सडक बालबालिकाको उचित व्यवस्थापन गर्ने ।
७. गृह मन्त्रालयबाट स्वीकृत पूर्ण समय व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डलाई व्यवसायीमैत्री ढंगले प्रभावकारी रूपमा कार्यान्वयन गराउने ।
८. विभिन्न कारणले रोकिएका ठमेलका गुरुयोजनाहरूलाई सबै सरोकारवालाको समन्वयमा पुनः अगाडि बढाउने ।
९. पर्यटकको सहजताका लागि ठमेलका सडकहरूको वैज्ञानिक नम्बरिङ कार्यलाई पूर्णता दिने ।
१०. डिजिटल ठमेलको अवधारणा अन्तर्गत निःशुल्क वाइफाइ, वाकिङ–फ्रेन्ड्ली (पैदलयात्रीमैत्री) सडक र पर्यटकमैत्री अत्याधुनिक सूचना केन्द्रको स्थापना गर्ने ।
ठमेलले लामो समयदेखि योजना धेरै बनाउने तर कार्यान्वयन नगर्ने नेतृत्व भोग्दै आएको गुनासो व्यवसायीहरूको छ । यस्तो अवस्थामा व्यवस्थापनका ज्ञाता, युवा जोश र सामाजिक काममा कहिल्यै ‘नाइँ’ नभन्ने कँडेलको स्वभाव नै उनको जितको मुख्य आधार बनेको पर्यटन व्यवसायीहरुको भनाइ छ । घरधनी र व्यवसायी दुवैको भावना बुझ्न सक्ने समन्वयकारी क्षमता भएकाले पनि यतिबेला ठमेलमा कँडेलको पक्षमा बलियो माहौल बन्दै गएको देखिन्छ । ठमेललाई नयाँ युग र नयाँ प्रविधिमा डोर्याउन कँडेलजस्तो ‘एक्सन ओरिएन्टेड’ युवाको आगमनले परिषद्को गरिमा मात्र बढाउने छैन, बरु ठमेलले वास्तवमै एउटा कुशल व्यवस्थापक पाउने निश्चित छ ।



प्रतिक्रिया