बालेन र स्वर्णिम आएपछि शेयर बजार सुध्रिन्छ भन्ने युवाको आशा किन भयो निराश ?


काठमाडौँ । नेपालको सञ्चार क्षेत्रका चर्चित व्यक्तित्व एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशको शेयर बजारमा सुधार ल्याउन र लगानीकर्तालाई आश्वस्त पार्न सरकारले तत्काल ठोस भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । आफ्नो आक्रामक र तार्किक प्रस्तुतिका कारण परिचित धमलाले वर्तमान शेयर बजारको अवस्था, यसका चुनौती र सम्भावनाबारे गम्भीर समीक्षा गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले नेपालको शेयर बजार सम्भावनायुक्त भए पनि पछिल्लो समय जटिल र संकटग्रस्त बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

‘नेपालको शेयर मार्केट जटिल पनि छ र यसभित्र अथाह सम्भावना पनि छ,’ आफ्नो विशिष्ट र प्रभावशाली शैलीमा धमलाले भने, ‘हाम्रो जस्तो देशमा चुनौतीहरू थुप्रै छन् । सर्वसाधारणमा धन सम्पत्ति बेचेर शेयरमा लगानी गरे तुरुन्तै पैसा आउँछ, १० लाख लगानी गरे २० लाख भइहाल्छ भन्ने बुझाइ छ । यही आकर्षणले नयाँ पुस्ता र युवाहरू यतातर्फ निकै आकर्षित भएका छन् । तर विगत, वर्तमान र भविष्यलाई हेर्ने हो भने अहिले शेयर बजार संकटबाट गुज्रिरहेको छ ।’

उनले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व र विश्व बैंकमा काम गरिसकेका डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि शेयर बजारमा ठूलो सुधार आउने युवाहरूको अपेक्षाले अहिलेसम्म सार्थकता पाउन नसकेको टिप्पणी गरे ।

नयाँ पुस्ताको प्रवेश र प्रविधिको पहुँचले बजारमा युवाहरूको प्रभाव बढेको स्वीकार गर्दै धमलाले वर्तमान कार्यशैलीमाथि प्रश्न उठाए । ‘नयाँ पुस्ता शेयर मार्केटमा आएका छन्, उनीहरू जानकार र सचेत पनि छन्,’ उनले थपे, ‘उनीहरूको पहुँच र प्रभाव बढिरहेको कुरामा दुई मत छैन । तर, प्रश्न उठ्छ— के अहिलेको शेयर मार्केट ठीक ढंगले चलिरहेको छ त ?’ धमलाले भने, ‘अब हामीले गम्भीर भएर प्रश्न गर्नुपर्ने बेला आएको छ ।’

अध्यक्ष धमलाले शेयर बजारलाई चलायमान बनाउन र नयाँ उचाइमा पुर्‍याउन परम्परागत शैलीले नहुने भन्दै युवाहरूको नयाँ सोच र भिजनको टड्कारो आवश्यकता रहेको प्रस्ट पारे ।

नेपालको अर्थतन्त्र र शेयर बजारको भविष्य खुला अर्थतन्त्रमै सुरक्षित रहेको दाबी गर्दै धमलाले सरकारको पछिल्लो धरपकड शैलीप्रति असन्तुष्टि जनाए । उद्योगी, व्यापारी र लगानीकर्तालाई त्रसित बनाएर देशमा लगानी भित्रिन नसक्ने उनको जिकिर थियो ।
प्रधानमन्त्री बालेन शाहलाई सिधै सम्बोधन गर्दै धमलाले भने, ‘म प्रधानमन्त्रीज्यूलाई स्पष्ट भन्न चाहन्छु— यदि कसैले देशलाई ठगेको छ, अपराध गरेको छ भने कारबाही गर्नुस्, त्यसमा ऋषि धमलाको पूर्ण साथ छ । तर, उद्योगपति र व्यापारीलाई विनाकारण थुनेर, तर्साएर लगानीको वातावरण बन्न सक्दैन ।’

धमलाले नेपालमा लगानी सुरक्षित छ र कसैको पनि पूँजी डुब्दैन भन्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिए । सरकारले तत्काल अभिभावकीय भूमिका निर्वाह गर्दै लगानीकर्ताहरूलाई आश्वस्त पार्न सके मात्रै देशको अर्थतन्त्र र शेयर बजारले लय समात्ने उनको भनाइ थियो ।