५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन

फाइल फाेटाे

लमजुङ । डुम्रेदेखि बेँसीसहर जाने सडक खुलेको ५४ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।

विसं २०२९ मा सुरु भएको ४२ किलोमिटर लामो डुम्रे–बेँसीसहर सडक विसं २०४६ मा सञ्चालनमा आएको थियो भने विसं २०५२ मा कालोपत्रको काम सुरु गरिएको थियो। तर सडकको अवस्था कमजोर रहेकाले सवारी सञ्चालन सहज हुन सकेको छैन र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।

लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न स्थानीयले पटक–पटक माग गरे पनि कामले गति लिन सकेको छैन। वर्षायाममा निर्माण कम्पनीले सडक किनारमा निर्माण सामग्री जथाभावी थुपारेका कारण आवतजावत झन् कठिन बनेको स्थानीयको गुनासो छ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने सडकका कारण यात्रु र चालक दुवैले सास्ती खेपिरहेका छन्। पछिल्लो समय जनदबाबपछि तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागरसम्म करिब ८.९ किलोमिटर सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ।

“पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ, यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले भनिन्।

“वर्षामा त यो सडकमा यात्रा गर्न निकै गाह्रो छ,” सवारी चालक नारायण घिमिरेले भने।

डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार सडक निर्माणका लागि पिके निर्माण सेवा काठमाडौंसँग विसं २०८२ जेठभित्र काम सम्पन्न गर्ने सम्झौता भएको थियो। दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिए पनि हालसम्म काम पूरा हुन सकेको छैन। आयोजनाको लागत ७२ करोड रुपैयाँ रहेको छ भने निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्र जोड्ने मुख्य मार्ग हो। यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटक पनि बेँसीसहर हुँदै यात्रा गर्ने गर्छन्। रासस