काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
आइतबार फेसबुकमार्फत उनले सुकुम्बासीहरूको व्यवस्थापन आवश्यक भए पनि त्यसलाई सरकारको वाचापत्रअनुसार संवेदनशील र जिम्मेवार ढंगले अघि नबढाएको बताएकी छन्।
‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?’ उनले लेखेकी छन्।
धितालले यति संवेदनशील विषयमा योजना, मानवीय संवेदनशीलता र जिम्मेवारीका साथ काम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउँदै, अहिलेको घटनाक्रमले राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गरेको टिप्पणी गरेकी छन्।
केही महिनाअघि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत काठमाडौं उपत्यकासहित विभिन्न स्थानका सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बस्तीमा डोजर चलाएको थियो। उपत्यकाको विभिन्न स्थानका अतिक्रमित संरचना हटाउने क्रममा त्यँहाका सुकुम्बासीहरुलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो ।
उनीहरुलाई बसोबासको लागि उचित व्यवस्थापन गर्ने भनिए पनि सरकारले २५ हजार मात्रै दिएर होल्डिङ सेन्टरबाट उनीहरुलाई निकालिएको छ ।
यसैबीच ,नगरकोट र बोडेको होल्डिङ सेन्टरबाट बाहिरिएका सुकुम्बासीहरु कोठा नपाएर अलपत्र परेका छन् ।



प्रतिक्रिया