नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर, बालकृष्णसहितका प्रतिवादी दोषी, टोपबहादुर तीन वटा कसुरमा दोषी ठहर


काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहितका प्रतिवादीहरूलाई दोषी ठहर गरेको छ ।

अदालतले टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेलसहित अधिकांश अभियुक्तलाई दोषी ठहर गरेको हो ।

जसमध्ये पूर्व उपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी तीन वटा कसुरमा दोषी ठहर भएका छन् । सजाय निर्धारणका लागि भने आउँदो असार २९ गतेका लागि पेसी तोकिएको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा प्रतिवादीहरूलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारण (सुनुवाइ) का लागि पेस गर्न आदेश दिएको अदालतको वेबसाइटमा उल्लेख छ ।

यसअघि २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध तथा संगठित अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाई ठूलो रकम असुलिएको आरोप छ । अदालतले अब दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गर्नेछ ।