पहिरोका कारण कोरला सडक अवरुद्ध

File Photo

मुस्ताङ । लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडाको अवरुद्ध सडकको पहिरो पन्छ्याइए पनि चैलेस्थित कालोभीर सडक र कागबेनी–ताङ्वे सडकमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको जानकारी दिए ।

कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरीचौकी कागबेनीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध भएसँगै चीनसँग आयात निर्यातमा समस्या देखिएको छ ।

प्रहरी निरीक्षक बस्यालका कारण कोरलानाकातर्फ मालसमान ढुवानी गर्न गएका र ढुवानी गरी फर्किएका कन्टेनर पहिरोले अवरुद्ध भएको स्थानमा अलपत्र परेका छन् ।

यसैगरी, अविरल वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र–१ स्थित कागबेनी–मुक्तिनाथ सडकको खिङ्गामा पहिरो खसेर सडक अवरुद्ध भए पनि त्यहा डोजर परिचालन गरी सडक सञ्चालन गरिएको त्यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए  ।

शुक्रबार रातिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिइन् । उनका अनुसार निरन्तर परेको वर्षाले बेनी–जोमसोम सडकको घाँसा बगर खोल्सामा सडक अवरुद्ध भइरहेको छ भने काभ्रेभीरमा सडक माथिबाट ढुङ्गा खस्ने क्रममा जारी रहेको छ ।

आयोजना प्रमुख शर्माका अनुसार म्याग्दीको सिरुवारी, तातोपानी, रूपसे र पोखरेबगरलगायत स्थानमा सडक माथि पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।

वर्षाका कारण सडक अवरुद्ध भएपछि चीनबाट पैठारी गरिएका सयौँ विद्युतीय सवारीसाधन जोमसोममा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्भावित विपद् जोखिमको संवेदनशीलाई मध्यनजर गर्दै दिउँसोका समयमा यातायातका साधन नचलाउन अनुरोध गरेको छ ।