काठमाडौँ, २४ असार । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गरेको उक्त सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र स्थापित कानुनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरशः पालना गर्दै सरकारले कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो ।
सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवतजावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताए ।
सिंहदरबारका अधिकांश कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्दै लगिने जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिने र त्यस्ता सेवाग्राही र कर्मचारीलाई सहयोग पु¥याउने छन् ।
सरकारले त्यस व्यवस्थालाई औपचारिकता वा तत्कालिक सुरुआतमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ सङ्कल्प लिएको प्रवक्ता अर्यालले बताए ।
सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि विनाझन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा आगामी दिनमा देशभरका अन्य सरकारी निकायले पूर्ण कार्यान्वयन गर्नेछन् ।



प्रतिक्रिया