काठमाडौँ । रणनीतिक र व्यापारिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबिच दोस्रो दिन पनि घातक सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ । समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत र क्षेत्रीय सुरक्षाको विषयलाई लिएर दुवै पक्ष आमनेसामने हुँदा मध्यपूर्वको सुरक्षा अवस्था गम्भीर मोडमा पुगेको छ ।
अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको स्वतन्त्र आवागमनलाई अवरोध गर्ने इरानको सैन्य क्षमता ध्वस्त पार्ने उद्देश्यले यो कारबाही थालेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानका करिब ९० वटा सैन्य स्थानलाई निशाना बनाइएको छ । इरानको उत्तरपूर्वस्थित रेल पुल, तटीय बुसेहरस्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा ठूला विस्फोटहरू भएका छन्, जसका कारण केही क्षेत्रमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ ।
अमेरिकी आक्रमणलगत्तै इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । बहराइनको राजधानी मनामामा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् भने कुवेतले आफ्नो आकाशतर्फ आएका शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोनहरूलाई आकाशमै ध्वस्त पारेको दाबी गरेको छ । यद्यपि इरानी आक्रमणबाट आफ्नो पक्षमा कुनै ठूलो मानवीय वा भौतिक क्षति नभएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप यो कारबाही गरिएको दाबी गर्दै पुनः यस्ता गतिविधि भए अझ कडा जवाफ दिइने चेतावनी दिएका छन् । यद्यपि उनले वार्ताका लागि ढोका खुला रहेको भन्दै इरानी पक्षबाट सम्पर्क प्रयास भएको समेत दाबी गरे ।
अर्कोतर्फ, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले अमेरिकी धम्कीसामु नझुक्ने स्पष्ट पारे । हर्मुज जलघाँटी इरानी व्यवस्थाअन्तर्गत मात्र सञ्चालन हुने उल्लेख गर्दै उनले इरानमाथि हुने हरेक आक्रमणको सोही रूपमा प्रतिवाद गरिने चेतावनी दिए ।
गत फेब्रुअरीमा भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि सुरु भएको यो युद्धमा इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क लिने र मार्ग परिवर्तन गर्ने जहाजमाथि कारबाही गर्ने नीति अख्तियार गर्दै आएको छ । हालै इरानले तीनवटा जहाजमाथि आक्रमण गरेपछि अमेरिका यो तहको सैन्य कारबाहीमा उत्रिएको हो ।
यो पछिल्लो तनाव फेब्रुअरी २८ मा युद्धको शुरुवातमै मारिएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको बिहीबार हुन लागेको अन्त्येष्टिअघि चर्किएको हो । हालसम्मको आक्रमणमा आठ जना इरानी सैनिक मारिएको तेहरानले पुष्टि गरेको छ ।
क्षेत्रीय तनाव युद्धको रूपमा परिणत हुन थालेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन् । दुवै देशबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तान र कतारले तनाव नियन्त्रणका लागि तत्काल कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिएका छन् । इरानी विदेशमन्त्री अब्बास अराघची र कतारका प्रधानमन्त्रीबीच यसबारे टेलिफोन वार्तासमेत भएको छ ।
अर्को छिमेकी देश ओमानले बहराइन, कुवेत र व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गरे पनि युद्धभरि आफ्नो तटस्थ भूमिकालाई कायम राख्दै समुद्री सुरक्षाका लागि वार्ता जारी राखेको छ ।
गत महिना मात्र दुई देशबीच शत्रुता अन्त्य गर्ने सहमति भएर समुद्री यातायात केही सहज भएको थियो, तर यो नयाँ टकरावले पुनः संकट निम्त्याएको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का प्रमुख आर्सेनियो डोमिङ्गेजका अनुसार यो युद्धग्रस्त क्षेत्रमा अझै पनि करिब छ हजार नाविकहरू विभिन्न जहाजमा फसेका छन्, जसको सुरक्षालाई लिएर विश्वभर चिन्ता बढेको छ ।



प्रतिक्रिया