काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँ र चाँदीको मूल्य १६० रुपैयाँले घटेको हो। नयाँ मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन दुई लाख ८७ हजार १०० र चाँदी चार हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा देखिएको यो गिरावटको सिधा सम्बन्ध अन्तर्राष्ट्रिय बजारको उतारचढावसँग जोडिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ७५ अमेरिकी डलर र प्रतिऔँस चाँदी ५७ अमेरिकी डलरमा झरेको छ। पूर्ण रूपमा आयातमा निर्भर नेपाली सुनचाँदी बजारमा मूल्य थपघट हुनुका मुख्य केही कारणहरु छन्ः
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको सूचकांक बलियो हुँदा सुनको मूल्यमा दबाब पुग्छ। डलर र सुनको सम्बन्ध विपरीत दिशामा हुने गर्दछ। डलर बलियो हुँदा अन्य देशका मुद्रा कमजोर हुन्छन्, जसका कारण सुन किन्न बढी खर्च गर्नुपर्ने हुनाले माग घट्छ र अन्ततः मूल्य ओरालो लाग्छ।
त्यस्तै, विश्व ेयर बजार र डिजिटल सम्पत्ति (क्रिप्टोकरेन्सी) मा उत्साह थपिँदा लगानीकर्ताहरूले सुरक्षित मानिने सुनबाट आफ्नो पुँजी झिकेर बढी नाफा दिने अन्य क्षेत्रमा परिचालन गर्छन्। यसरी सुनमा हुने संस्थागत लगानी र माग घटेपछि विश्व बजारमै यसको मूल्य सस्तो हुन पुगेको हो।
अमेरिकी केन्द्रीय बैंकलगायत विश्वका प्रमुख देशका केन्द्रीय बैंकहरूले ब्याजदर उच्च राख्ने वा बढाउने सङ्केत गरेपछि सुनको आकर्षण केही घटेको हो। बैंक वा ऋणपत्रले राम्रो प्रतिफल दिने अवस्थामा लगानीकर्ताहरू ब्याज आम्दानी नहुने सुनमा पैसा होल्ड गरेर राख्न चाहँदैनन्।
अन्तर्राष्ट्रिय बजारका यी बहुआयामिक सूचकहरूमा आएको परिवर्तनकै कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको हो। बजार विश्लेषकहरूका अनुसार आगामी दिनमा डलरको गति र विश्व अर्थतन्त्रको दिशा कता जान्छ, त्यसैले सुनको आगामी मूल्य तय गर्नेछ।



प्रतिक्रिया