काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्साना बानुले सरकार र गृह मन्त्रालयको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बानुले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको गम्भीर कमजोरी औँल्याएकी हुन् ।
बैठकमा बोल्दै सांसद बानुले जनताको पीरमर्का र समस्या सुन्नु सरकारको प्राथमिक दायित्व भएको स्मरण गराइन् । नागरिकलाई समस्या पर्दा अभिभावक बन्नुपर्ने मन्त्रालय र सम्बद्ध निकायहरूबाटै गैरजिम्मेवार व्यवहार भइरहेको उनको आरोप थियो ।
गृह प्रशासनको सुस्तता र बेवास्ताप्रति लक्षित गर्दै उनले गृहमन्त्री सुधन गुरुङको सचिवालयको भूमिकामाथि गम्भीर प्रश्न उठाइन् । ‘जनता र देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृह मन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा, गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासाहरू तारन्तार निरन्तर आइरहेका छन्,’ सांसद बानुले भनिन्, ‘जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी हो, तर यहाँ नागरिकका गुनासालाई सीधै उपेक्षा गर्ने काम भइरहेको छ ।’
सांसद बानुले बालेन सरकारको आलोचना गरिरहँदा आफ्ना पार्टीका सभापति रवि लामिछानेको कदमको भने खुलेर प्रशंसा गरिन् । जेनजी आन्दोलनका मुद्दाहरूलाई गम्भीरतापूर्वक मनन गरी समाधानका निम्ति सहकार्य र पहलकदमी लिएको भन्दै उनले सभापति लामिछानेलाई धन्यवाद दिइन् ।
‘उहाँ (रवि लामिछाने) को काम प्रशंसनीय छ,’ बानुले थपिन्, ‘यसले देशका युवाहरूमा राज्य र राजनीतिक नेतृत्वप्रति गुम्दै गएको भरोसालाई पुनः जगाउने काम गरेको छ । सरकारले पनि यसैगरी युवा र आम नागरिकका आवाजलाई बेलैमा सुन्नु जरुरी छ ।’



प्रतिक्रिया