अमेरिकाद्वारा इरानका ९० सैन्य लक्ष्यमा आक्रमण


काठमाडौं, असार २६ । अमेरिका र इरानबीच आक्रमण–प्रत्याक्रमण जारी रहँदा होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूको संख्या नाटकीय रूपमा घटेको छ ।

अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य आसपासका क्षेत्रसहित इरानका ९० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ । इरानले भने पछिल्ला दुई दिनमा अमेरिकी आक्रमणबाट १४ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बुशेहर आणविक ऊर्जा केन्द्र नजिकका केही स्थानमा पनि आक्रमण भएको छ। यद्यपि, अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

जवाफी कारबाहीस्वरूप इरानले कुवेत, बहराइन र कतारस्थित अमेरिकी सम्पत्तिलाई निशाना बनाएको दाबी गरेको छ । त्यसपछि बिहीबार नै कुवेत, जोर्डन र इराकका विभिन्न स्थानमा थप आक्रमण गरिएको सरकारी निकट सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको छ दिन लामो श्रद्धाञ्जली कार्यक्रमपछि मशहदमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा लाखौं सर्वसाधारण सहभागी भएका थिए। सहभागीमध्ये केहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध धम्कीपूर्ण सन्देश लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको प्रारम्भिक आक्रमणका क्रममा मृत्यु भएको थियो।

इरानको विदेश मन्त्रालयले पछिल्ला अमेरिकी आक्रमणलाई ‘गम्भीर युद्ध अपराध’ भन्दै अमेरिकी प्रशासनको कडा आलोचना गरेको छ। मन्त्रालयका अनुसार तेहरान–मशहद जोड्ने पुल तथा रेलमार्गसमेत आक्रमणबाट क्षतिग्रस्त भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पाँच प्रान्तमा भएका आक्रमणमा १४ जनाको मृत्यु र ७८ जना घाइते भएका छन्।

अमेरिकी आक्रमणपछि खाडी क्षेत्रका देशहरूले पनि इरानी आक्रमणको पुष्टि गरेका छन्। बहराइनको राजधानी मनामामा विस्फोट भएका छन् भने कुवेतले मिसाइल र ड्रोन अवरोध गरेको जनाएको छ। कतारले सुरक्षा सतर्कता जारी गरेको छ।

यता, इरानको दक्षिणी बन्दरगाह कोनाराकमा पनि विस्फोट भएको स्थानीय अधिकारीले बताएका छन्। उनका अनुसार नौसैनिक अड्डामाथि ‘शत्रुपक्ष’ ले आक्रमण गरेको हो। तर अमेरिकी रक्षा अधिकारीले पछिल्ला केही घण्टामा इरानमा कुनै नयाँ आक्रमण नगरेको दाबी गरेका छन्।

इरानी संसदका सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले अमेरिकाले अझै पनि ‘धम्की र वाचा उल्लंघनको मूल्य चुकाउनुपर्ने’ पाठ नसिकेको टिप्पणी गरेका छन्। उनले आक्रमण भए त्यसको जवाफ पनि दिइने चेतावनी दिँदै होर्मुज जलडमरूमध्य इरानकै व्यवस्थाअनुसार सञ्चालन हुने बताएका छन्।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले पछिल्लो सैन्य कारबाहीको उद्देश्य इरानको व्यावसायिक जहाजमाथि आक्रमण गर्ने क्षमता कमजोर पार्नु रहेको जनाएको छ। सेन्टकमका अनुसार इरानको तटीय क्षेत्रमा रहेका हवाई प्रतिरक्षा प्रणाली र सैन्य रसद संरचनासहित ९० सैन्य लक्ष्यमा आक्रमण गरिएको हो।