स्थानान्तरण गर्दा जोखिम हुने भएपछि जलनका बिरामी गणेशलाई तत्काल भारत नलगिने


काठमाडौँ । वीर अस्पतालमा उपचाररत जलनका गम्भीर बिरामी गणेश नेपालीलाई तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय भएको छ। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको स्वास्थ्य अवस्था अस्थिर र जोखिमपूर्ण रहेकाले चिकित्सकहरूको सुझावका आधारमा सरकारले उक्त निर्णय लिएको हो।

यसअघि, उपचारमा संलग्न चिकित्सकहरूले उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजान सिफारिस गरेपछि सरकारले सम्पूर्ण तयारी पूरा गरेको थियो। एयर एम्बुलेन्सको व्यवस्था, सरकारी कोषबाट उपचार खर्च व्यहोर्ने निर्णय र भारतको विमानस्थलदेखि अस्पतालसम्म पुर्‍याउने प्रबन्धसमेत मिलाइएको थियो। बिरामीलाई समयमै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुधन गुरुङको निर्देशनमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर सडक व्यवस्थापनमा खटिएका थिए।

तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका नेपालीलाई तत्काल स्थानान्तरण गर्दा थप खतरा हुन सक्ने निष्कर्ष चिकित्सकहरूले निकालेका छन्। अवस्था स्थिर भएपछि मात्र उनलाई भारत लैजान उपयुक्त हुने चिकित्सकहरूको राय छ।

बिहीबार दिउँसो वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली उनको उपचारमा खटिएको छ। टोलीले बिरामीको रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन सघन उपचार जारी राखेको अस्पतालले जनाएको छ।