घरेलु राजनीतिको रापतापका बीच प्रधानमन्त्री बालेनको भारत भ्रमणको चर्चा


काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति र त्यसले सिर्जना गरेको तरङ्ग अझै साम्य भइसकेको छैन। तर, यसैबीच प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको चर्चाले राजनीतिक र कूटनीतिक वृत्त तात्न थालेको छ। सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्दै कार्यसूचीको टुङ्गो लगाउने स्रोतले जनाएको छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको असार २३ को बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाललाई आमन्त्रण गरिएको थियो। भारत तथा चीन भ्रमण र समसामयिक अन्तर्राष्ट्रिय सम्बन्धका एजेन्डामा केन्द्रित सो बैठकमा पत्रकारहरूलाई प्रवेश निषेध गरियो। बैठकपछि समितिका सदस्य एवं सांसद अभिषेकप्रताप शाहले दिएको जानकारीअनुसार भारतीय विदेश मन्त्रालयका सहायक सचिव तहका अधिकारीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल चाँडै नेपाल आउँदै छ, जसले दुई देशबीचका प्राविधिक र द्विपक्षीय मुद्दामा गृहकार्य गर्नेछ।

परराष्ट्रमन्त्रीको यो ब्रिफिङको एक साता नबित्दै भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भ्रमणको चर्चाले व्यापकता पाएको छ। भारतीय समाचार संस्था एसिया न्यूज इन्टरनेसनल (एएनआई) ले प्रधानमन्त्री शाहको भारत भ्रमण छिट्टै हुन लागेको र दुवै पक्ष भ्रमणको तालिका मिलाउन व्यस्त रहेको समाचार सम्प्रेषण गरेको छ। यस्तै, अर्को भारतीय अनलाइन ‘फर्स्टपोस्ट’ ले पनि भारतीय कूटनीतिक स्रोतलाई उद्धृत गर्दै भ्रमणको कार्यसूचीबारे दुई देशबीच घनीभूत छलफल भइरहेको दाबी गरेको छ।

यसअघि, नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिसस पुगेका परराष्ट्रमन्त्री खनालले अप्रिल ११ मा भारतीय सञ्चारमाध्यम ‘विअन’सँगको कुराकानीमा प्रधानमन्त्री शाहले भारत भ्रमणको निमन्त्रणा पाइसकेको र त्यसलाई स्वीकार गरिसकेको खुलासा गरेका थिए।

त्यसको तीन महिनापछि अहिले भारतीय मिडियामा यो विषय पुनः प्राथमिकताका साथ उठ्नुले कूटनीतिक तयारी अन्तिम चरणमा पुगेको सङ्केत गर्छ। गत जुनमा परराष्ट्रमन्त्री खनाल आफैँले भारत भ्रमण गरी ऊर्जा, कनेक्टिभिटी र व्यापारका मुद्दामा छलफल गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि भारत भ्रमण गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गरिसकेका छन्।

राजनीतिक विश्लेषकहरू भने प्रधानमन्त्री बालेन शाहको यो सम्भावित भारत भ्रमणको समय र यसको राजनीतिक आयामलाई भिन्न कोणबाट हेरिरहेका छन्। यतिबेला सरकार र सत्तारुढ दल रास्वपा कडा घरेलु दबाबमा छन्। काठमाडौँको सडकमा गणेश नेपालीको आत्मदाहपछि चर्किएको नागरिक आक्रोश, प्रतिनिधिसभामा सीमासम्बन्धी प्रम बालेनको विवादास्पद अभिव्यक्ति र सुकुम्बासी व्यवस्थापनमा सरकारले भोगेको असफलताका कारण सदनदेखि जनस्तरसम्म तीव्र असन्तुष्टि चुलिएको छ।

यस्तो प्रतिकूल पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत भ्रमणको चर्चालाई अगाडि सार्नुमा सरकार र रास्वपाको रणनीतिक दाउपेच लुकेको विश्लेषण गर्न थालिएको छ। आन्तरिक संकट, सदनदेखि सडकसम्मको आक्रोश, मिटरब्याजपीडित र सुकुम्बासी मुद्दाबाट मिडिया र आम नागरिकको ध्यान मोड्नका लागि कूटनीतिक भ्रमणको कार्ड फ्याँकिएको हुनसक्ने विश्लेषकहरुको ठम्याइ छ।

प्रधानमन्त्री दिल्ली प्रस्थान गर्नासाथ राष्ट्रिय बहसको केन्द्रबिन्दु बदलिने र घरेलु असन्तुष्टि ओझेलमा पर्ने भएकाले नै सरकारले यस भ्रमणलाई बढी प्राथमिकता दिएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री शाहले मित्रराष्ट्र भारतको भ्रमण गर्नु आवश्यक छ, सँगसँगै आन्तरिक आक्रोशलाई व्यवस्थापन गर्न पनि बालेन सरकार गम्भीर भएर लाग्नुपर्नेमा विश्लेषकहरुले जोड दिएका छन् ।