काठमाडौँ । मध्यपूर्व फेरि एकपटक भीषण युद्धको संघारमा पुगेको छ। अमेरिका र इरानबीचको प्रतिआक्रमणको शृङ्खलाले खाडी क्षेत्रलाई युद्धमैदानमा परिणत गरिदिएको छ। अमेरिकी सेनाले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्गमा पुनः व्यापक आक्रमण गरेपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सो जलमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ।
यो तनावको सुरुवात यसै साता तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि भएका आक्रमणबाट भएको थियो। पछिल्लोपटक आईआरजीसीले हर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको ‘एमभी जीएफएस ग्यालेक्सी’ जहाजमाथि आक्रमण गरेपछि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका मिसाइल, ड्रोन प्रक्षेपणस्थल, सञ्चार सञ्जाल र तटीय निगरानी केन्द्रसहित १४० वटा सैन्य लक्ष्यमा भीषण प्रहार गरेको छ। अमेरिकी आक्रमणमा परी १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
अमेरिकी आक्रमणको केही घण्टामै इरानले जोर्डनस्थित अमेरिकी सैन्य आधार ‘प्रिन्स हसन एयर बेस’ मा मिसाइल र ड्रोनबाट जवाफी कारबाही गरेको दाबी गरेको छ। आईआरजीसीले त्यहाँको कमान्ड सेन्टर र एमक्यू–९ ड्रोन राख्ने ह्याङ्गर ध्वस्त पारेको जनाएको छ। इरानी आक्रमणको रापबाट संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत र बहराइन जस्ता अमेरिकी सहयोगी राष्ट्रहरू पनि जोगिन सकेका छैनन्। उनीहरूले पनि आफ्नो आकाशमा इरानी मिसाइल र ड्रोनको सामना गरिरहेको बताएका छन्। इरानका संसद् सभामुख मोहम्मद बाघेर घालिबाफले ‘एकतर्फी सम्झौताको युग समाप्त भएको’ घोषणा गर्दै अमेरिकालाई थप मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
यो महासङ्कटको चुरो इरानको आन्तरिक नेतृत्व परिवर्तन र प्रतिशोधको भावनासँग जोडिएको छ। गत २८ फेब्रुअरीमा अमेरिका(इजरायल युद्धको पहिलो दिन भएको हवाई आक्रमणमा पूर्व सर्वोच्च नेता अली खामेनी मारिएपछि उनका छोरा आयातोल्लाह मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बनेका छन्। पद सम्हालेलगत्तै उनले बदला लिन आह्वान गर्दै हर्मुज जलमार्ग बन्द गर्ने कडा निर्णय लिएका हुन्। खामेनीको अन्त्येष्टिमा सहभागी इरानीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेपछि वातावरण थप उत्तेजित बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणले युद्धविराम समाप्त भएको बताएका छन्। इजरायलले इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको गुप्त सूचना वासिङ्टनलाई दिएको चर्चा चलिरहँदा ट्रम्पले आफू धेरै अघिदेखि नै इरानको हिट लिस्टको पहिलो नम्बरमा रहेको बताएका छन्। उनले शनिबार इरानलाई चेतावनी दिँदै त्यस्तो कुनै प्रयास भए अमेरिकाले इरानका सबै क्षेत्र पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्।
यद्यपि, यो चरम तनावका बीच पनि कूटनीतिक ढोका पूरै बन्द भइसकेको छैन। राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताहरूमार्फत वार्ताको प्रक्रिया पुनः शुरु गर्ने प्रयास भइरहेको जनाएका छन्। इरानले पनि अमेरिकी अधिकारीहरूलाई ट्याङ्करमाथिको आक्रमण गल्तीवश भएको र त्यसका लागि नियन्त्रणबाहिर रहेको एउटा आन्तरिक समूह जिम्मेवार रहेको स्पष्टीकरण दिएको छ। अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तामार्फत इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवतजावतका लागि खुला गर्न र व्यावसायिक जहाजमाथि आक्रमण रोक्न आग्रह गरिरहेका छन्। तर, खाडीमा बारुदको गन्ध फैलिइसकेकाले यो संकट कता जान्छ भन्न सकिने अवस्था छैन।



प्रतिक्रिया