कर्जा प्रवाह सुस्त हुँदा पनि वाणिज्य बैंकको नाफा १९.६२ प्रतिशतले बढ्यो


काठमाडौं । देशको अर्थतन्त्रमा कर्जा लगानी (क्रेडिट फ्लो) अपेक्षाकृत रूपमा सुध्रिन नसके पनि वाणिज्य बैंकहरूको मुनाफामा भने उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको (११ महिनाको) वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले समग्र नाफा १९.६२ प्रतिशतले बढाएका छन्।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले यस अवधिमा कुल ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका हुन्। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा १४ वटा वाणिज्य बैंकले आफ्नो नाफा बढाउन सफल भएका छन् भने ६ वटा बैंकको नाफामा गिरावट आएको छ। जसमा नबिल बैंकले सबैभन्दा धेरै मुनाफा आर्जन गर्दै आफ्नो वर्चस्व कायम राखेको छ। नबिलले ३२.५२ प्रतिशतले नाफा वृद्धि गरी ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै, प्रतिशतका आधारमा कुमारी बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आक्रामक रूपमा नाफा बढाएका छन्। कुमारी बैंकको नाफा ४ अर्ब ७० करोड पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। एनएमबि बैंकले १९.७८ प्रतिशतले नाफा बढाएर ३ अर्ब ७२ करोड र नेपाल बैंकले ८ प्रतिशत वृद्धि सहित ३ अर्ब ३२ करोड रुपैयाँ कमाएका छन्। प्राइम बैंकको नाफा पनि २९ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

नाफा कमाउने दौडमा केही ठुला बैंकहरू भने पछि परेका छन्। ग्लोबल आईएमई बैंकको मुनाफा ०.९६ प्रतिशतले घटेर ५ अर्ब ९७ करोड रुपैयाँमा खुम्चिएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड र एभरेष्ट बैंकको नाफा २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ।

सबैभन्दा कमजोर वित्तीय विवरण हिमालयन बैंक र एनआईसी एशिया बैंकको देखिएको छ। ११ महिनाको अवधिमा हिमालयन बैंकले १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ मात्र कमाउँदा एनआईसी एशिया बैंकको नाफा सबैभन्दा न्यून अर्थात् ५० करोड ७७ लाख रुपैयाँ मात्र सीमित भएको छ।

बैंकहरूको नाफा अंकमा बढेको देखिए पनि उनीहरूको व्यावसायिक जोखिम भने टरेको छैन। खराब कर्जा बढेका कारण बैंकहरूले नाफाको ठूलो हिस्सा सम्भावित कर्जा जोखिम व्यवस्थापनमा खर्च गर्नुपरेको छ।

वैशाख महिनामा ७२ अर्ब ८३ करोड २० लाख रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा नोक्सानी व्यवस्था जेठ महिनामा ४.११ प्रतिशतले थपिएर बैंकहरूको बोझ बढाएको छ। यसमध्ये विशेष कर्जा नोक्सानी व्यवस्था मात्रै ५३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ पुगेको छ।

कर्जा नोक्सानी व्यवस्थापनमा सबैभन्दा धेरै रकम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छुट्याउनुपरेको छ। यस बैंकले १२ अर्ब ५१ करोड ९ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। यस्तै, कुमारी बैंकले १० अर्ब १९ करोड २ लाख र लक्ष्मी सनराइज बैंकले ६ अर्ब २३ करोड ९ लाख रुपैयाँ जोखिम व्यवस्थापनका लागि छुट्टाएका छन्।

अन्य बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३६ करोड ६६ लाख, कृषि विकास बैंकले ५ अर्ब १३ करोड ८ लाख, एनएमबि बैंकले ४ अर्ब ९४ करोड ३६ लाख, नेपाल बैंकले ४ अर्ब ९२ करोड ३२ लाख, एनआईसी एशियाले ४ अर्ब ६३ करोड, प्रभु बैंकले ४ अर्ब १५ करोड २८ लाख र ग्लोबल आइएमईले ३ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा राख्नुपरेको छ।

बैंकिङ क्षेत्रको यो तथ्याङ्कले बैंकहरू आन्तरिक रूपमा बलियो देखिन खोजे पनि बजारमा अझै कर्जा असुलीको दबाब र शिथिलता कायम रहेको प्रष्ट पार्छ।