काठमाडौँ । चर्चित पत्रकार ऋषि धमला नेतृत्वको स्वतन्त्र नागरिक अभियानले मुलुकमा विद्यमान बेरोजगारी, सुकुम्बासी समस्या र शहरी बेथितिविरुद्ध काठमाडौँमा आइतबार आकस्मिक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष धमलाले देशका जल्दाबल्दा समस्या समाधानका लागि आफूहरू बृहत् कार्ययोजनासहित मैदानमा उत्रिएको जानकारी दिए ।
सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको पत्रकार सम्मेलनमा धमलाले पछिल्लो समय देशमा बढेको निराशा र बेरोजगारीका कारण युवाहरूले आत्मदाह गर्नुपर्ने अवस्था आउनु राज्यको असफलता भएको टिप्पणी गरे । ‘गणेश नेपालीको आत्मदाह प्रकरणले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ठूलो तरङ्ग ल्याएको छ,’ धमलाले भने, ‘सरकारले तत्काल उनलाई शहीद घोषणा गर्नुपर्छ । पीडित परिवारलाई उचित क्षतिपूर्ति, रोजगारी र उनकी छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था राज्यले तुरुन्त गरोस् ।’
काठमाडौँ महानगरपालिकाभित्रको पार्किङ र यातायात मजदुरको समस्याबारे बोल्दै धमलाले स्थानीय र केन्द्र सरकार दुवै गैरजिम्मेवार बनेको आरोप लगाए । काठमाडौँमा झन्डै दुई लाख युवाले पठाओलगायतका राइड सेयरिङमा आबद्ध भएर स्वरोजगार अपनाएको भन्दै धमलाले उनीहरूका लागि तत्काल पार्किङ र शहरमा शौचालयको उचित व्यवस्था गर्न माग गरे ।
विगतमा कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरू सुकुम्बासी समस्या समाधान गर्न असफल भएको उल्लेख गर्दै चर्चित पत्रकार धमलाले वर्तमान बालेन शाह नेतृत्वको सरकार पनि यसमा चुकेको दाबी गरे । विकल्पबिना संरचना भत्काउने कार्य गलत भएको उनको भनाइ थियो ।
‘म आफैँ दुईपटक कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर पुगेर त्यहाँको जोखिमबारे बालेन सरकारलाई झक्झक्याएको थिएँ,’ धमलाले भने, ‘यदि मेरो कुरा सुनेको भए आज सुकुम्बासीहरू डुबानमा पर्ने थिएनन् ।’
कीर्तिपुरबाट खरिपाटी सारिएका सुकुम्बासीहरूलाई ६ महिना वा वर्षदिनभित्र स्थायी घर बनाएर व्यवस्थित रूपमा राखिनुपर्ने र उनीहरूका बालबालिकालाई शिक्षाको ग्यारेन्टी गरिनुपर्ने धमलाले बताए ।
पत्रकार सम्मेलनमा धमलाले प्रधानमन्त्री बालेन शाहले जनताको एजेन्डामा जनतासँगै बसेर काम गर्नुपर्नेमा जोड दिए । आन्दोलित जेनजीमाथि भइरहेको धरपकडको विरोध गर्दै उनले दमन गरेर समस्या समाधान नहुने स्पष्ट पारे ।
स्थानीय तहलाई दलीय राजनीतिबाट मुक्त राख्न र विकासको दौडमा पछि परेको कर्णालीलाई न्याय गर्ने एजेन्डामा पनि अभियान लाग्ने धमलाले स्पष्ट पारे ।
कार्यक्रममा अभियानका वरिष्ठ सदस्य दीप पौडेल र सदस्य ओमकुमारी शर्माले काठमाडौँमा सवारी साधनको यकिन तथ्याङ्क निकालेर वैज्ञानिक पार्किङको व्यवस्था गर्नुपर्ने र ट्राफिक प्रहरीको चिट काट्ने प्रवृत्तिमा सुधार ल्याई कानुन नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया