​कृष्णनगर उद्योग संघका अध्यक्ष शाहमाथि सांसद र मेयरकै संलग्नतामा ज्यान मार्ने प्रयास, परिवारमाथि पनि दुर्व्यवहार


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा मध्यराति एक उद्योगीमाथि जनप्रतिनिधिकै नेतृत्वमा आएको समूहले घरमै छिरेर ज्यान मार्ने प्रयास र परिवारमाथि दुर्व्यवहार गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शाहमाथि नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहसहितको दलबलले घरमै पुगेर साङ्घातिक हमला गरेको पीडितले बताएका छन्।

​​पीडित रितेश शाहका अनुसार घटनाको सुरुवात स्थानीय क्यासिनो विवादबाट भएको हो। शनिबार राति करिब १:३० बजे उद्योग वाणिज्य संघका सल्लाहकार फिरोज खान र रइस शेखले अदालतबाट पक्राउ पुर्जी जारी भएका एक प्रतिवादी क्यासिनोमा खेलिरहेको सूचना प्रहरीलाई दिएका थिए। सो क्रममा उनीहरूलाई क्यासिनोका बाहिर रहेका व्यक्तिहरूले घेरेपछि सुरक्षाका लागि शाह प्रहरी कार्यालय पुगेका थिए।

​त्यसै विषयलाई निहुँ बनाउँदै सांसद अभिषेक प्रताप शाह र मेयर रजत प्रताप शाहको नेतृत्वमा आएको करिब ४० जनाको समूहले राति २ बजेतिर अध्यक्ष शाहको निवासमा जबरजस्ती प्रवेश गरेको थियो। उक्त समूहले शाहका वृद्ध बुबाआमासहित परिवारका अन्य सदस्यहरूमाथि समेत दुर्व्यवहार गरेको दृश्य रिपोर्टस नेपाललाई प्राप्त सिसिटिभी (CCTV) फुटेजमा देखिन्छ ।

​पीडित शाहले ​घटनाबारे जानकारी दिँदै भने ,`म क्यासिनोभित्र गएको थिइनँ। तर उद्योग वाणिज्य संघको अध्यक्षको नाताले सुरक्षा समन्वयका लागि पुग्दा ममाथि नै रिसइबी साधियो। मुख्य योजनाकार सांसद अभिषेक प्रताप शाहले मेरो मुखमा रिभल्भर (पेस्तोल) कोचेका थिए भने मेयर रजत प्रताप शाहले मेरो घाँटी थिचेर सिसा फुटेको ठाउँमा लडाइदिए। उनीहरूसँगै बाहिर करिब डेढ सय जना गुण्डाहरूको समूह तैनाथ थियो।´

​आफ्नै क्षेत्रका उद्योगीमाथि खनिएका सांसद अभिषेक प्रताप शाह गत निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्। उनी यसअघि पनि यस्तै आपराधिक गतिविधिमा मुछिएका थिए। विगतमा श्याम मिश्रा नामक व्यक्तिलाई आफ्नै घरमा बोलाएर कुटपिट गरी ज्यान मार्ने उद्योगअन्तर्गत उनीमाथि कानुनी मुद्दा समेत चलिसकेको छ।

जनप्रतिनिधि नै कानुन हातमा लिएर उद्योगी व्यवसायीको घरभित्र पसी ज्यान मार्ने उद्योग र परिवारमाथि अत्याचारमा उत्रिएपछि स्थानीय व्यवसायी र सर्वसाधारण आक्रोशित बनेका छन्।