जासुसी रोक्न जापान सक्रिय


काठमाडाैँ । रुसले जापानलाई गुप्तचर गतिविधि र युद्धसम्बन्धी प्रविधि खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासापछि जापानले विदेशी जासुसी गतिविधिविरुद्ध अझ कडा कदम चाल्न आवश्यक रहेको जनाएको छ ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले सोमबार बदलिँदो सुरक्षा परिवेशमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना हासिल गर्ने विदेशी गुप्तचर गतिविधि बढ्दो चुनौती बन्दै गएको बताउँदै त्यसको प्रभावकारी प्रतिरोध गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले द न्युयोर्क टाइम्सको प्रतिवेदनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि यस विषयलाई सरकारले थप गम्भीर रूपमा सम्बोधन गर्ने स्पष्ट पारे।

आइतबार प्रकाशित अनुसन्धानात्मक प्रतिवेदनमा कमजोर जासुसी कानूनका कारण रुसले जापानलाई गुप्तचर सूचना सङ्कलन तथा युक्रेन युद्धमा प्रयोग हुने दोहोरो उपयोग (डुअल–युज) प्रविधि र उपकरण खरिदका लागि प्रमुख केन्द्र बनाएको दाबी गरिएको छ।

प्रतिवेदनअनुसार रुसमा प्रत्यक्ष निर्यातमाथि प्रतिबन्ध रहेकाले आवश्यक सामग्री जापानबाट मध्यस्थ कम्पनीमार्फत भियतनाम, उज्बेकिस्तान र श्रीलङ्कालगायत तेस्रो मुलुक हुँदै रुस पुर्‍याइने गरिएको उल्लेख छ । त्यसमा टोकियोस्थित रुसी विमान सेवा एरोफ्लोटको कार्यालयबाट गोप्य रूपमा सञ्चालन हुने गुप्तचर सञ्जालको समेत चर्चा गरिएको छ।

युक्रेनी पक्षको अनुमानअनुसार हाल प्रयोग भइरहेका रुसी क्षेप्यास्त्र र ड्रोनमा प्रयोग भएका करिब ९० प्रतिशत जापानी कम्पोनेन्ट रहेका छन् ।

यसैबिच प्रवक्ता किहाराले जापानको संसद्ले यस वर्ष विभिन्न निकायमा छरिएर रहेका गुप्तचर गतिविधिको समन्वय गर्न नयाँ राष्ट्रिय निकाय गठन गर्ने कानून पारित गरिसकेको जानकारी दिए । उनका अनुसार नयाँ संयन्त्रले विदेशी जासुसी गतिविधिको निगरानी र प्रतिरोधलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। रासस