मिडिया हाउसअगाडि रास्वपा नेताको गाडीः राजनीतिक स्टन्ट कि अराजकताको नयाँ रुप ?


काठमाडौँ । चौथो अङ्गका रूपमा चिनिने सञ्चारमाध्यमको मर्यादा र सुरक्षामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सोमबार देशका स्थापित मिडिया हाउसअगाडि देखिएको एउटा दृश्यले राजनीतिक वृत्त र आम नागरिकलाई गम्भीर बनाएको छ । कान्तिपुर पब्लिकेसन्स, अनलाइन खबर र हिमालय टेलिभिजनको मूल गेटमै सवारी साधन पार्किङ गरेर आवतजावत ठप्प पारिनु र पछि उक्त गाडी राजनीतिक पहुँच भएका व्यक्तिसँग जोडिनुले नयाँ राजनीतिक दलको चरित्र र नियतमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ । रौतहटको गरुडा नगरपालिकाका जयसवाल हालै मात्र रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत भएका थिए ।
तथ्यहरू केलाउँदा उक्त गाडी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी हुन बाँकी रहेको भेटिएको छ ।

कार्यस्थलमा खटिएका पत्रकार र कर्मचारीको आवतजावतलाई नै प्रभावित पार्ने गरी मुख्यद्वारमा गाडी तेर्स्याइएपछि काठमाडौँ प्रहरीले क्रेनको मद्दतबाट उक्त गाडी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाको गम्भीरतालाई हेर्दै प्रहरीले यसको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।
नयाँ र वैकल्पिक राजनीतिको नारा लिएर उदाएको रास्वपाका जिम्मेवार नेताकै गाडी मिडिया हाउसको ढोकामा बेवारिसे ढंगले छाडिनु पार्किङको लापरबाही मात्र होइन, बरु यो एक नियोजित मनोवैज्ञानिक दबाब वा स्टन्ट हुनसक्ने विश्लेषकहरू बताउँछन् ।

पछिल्लो समय रास्वपा र यसका नेतृत्वमाथि लागेका विभिन्न आरोपका समाचार संकलन र सम्प्रेषण गर्ने मिडिया हाउसहरूलाई निशाना बनाउने रणनीतिअन्तर्गत यो घटना भएको हुनसक्ने संशय पैदा भएको छ । लोकतन्त्रमा प्रश्न सोध्ने मिडियाको बाटो थुन्नु अराजकताको पराकाष्ठा हो ।
राजनीतिक दलको केन्द्रीय तहमा रहेका व्यक्तिले खरिद प्रक्रिया र नामसारीसमेत नसकिएको गाडी शक्तिको आडमा जहाँ पायो त्यहीँ छाड्नुले विधिको शासनलाई चुनौती दिएको छ ।
रास्वपाको अनुसन्धान तथा अभिलेखीकरण जस्तो संवेदनशील विभागका सदस्य नै यसरी विवादित र शंकास्पद गतिविधिमा संलग्न देखिनुले पार्टीको आन्तरिक शुद्धीकरण र उनीहरूले दिने ‘सुशासन’को गफमाथि व्यङ्ग्य गरेको छ ।

सञ्चार गृहको गेटै थुनेर आवतजावत अस्तव्यस्त बनाउने यो कदमलाई एउटा सवारी साधनको गलत पार्किङ भनेर उन्मुक्ति दिन मिल्दैन । राजनीतिक दलका नेताहरूले कानुन र मर्यादाको धज्जी उडाउँदा त्यसले समाजमा कस्तो सन्देश जान्छ भन्ने ख्याल गर्नैपर्छ । रास्वपा जस्तो सुधारको कुरा गर्ने दलले आफ्ना नेताको यस्ता उद्दण्ड व्यवहारमाथि मौन बस्ने कि कारबाही गर्ने ? प्रश्न उब्जिएको छ ।