रामेछाप । चोरीको सुन खरिद गरेको आरोपमा प्रहरीले मन्थलीका दुई सुनचाँदी पसल सञ्चालकलाई पक्राउ गरेको छ।चोरीसम्बन्धी घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकी मैया कार्कीले बयान दिँदा आफूले चोरी गरेका सुनका गहना ती पसलमा बिक्री गरेको बताएपछि प्रहरीले व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो।
पीडित अस्मिता श्रेष्ठ माझीको जाहेरीका आधारमा प्रहरीले शुक्रबार मन्थली नगरपालिका–१ कटहरबोटबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा मन्थली–१ स्थित दीप लक्ष्मी सुनचाँदी पसलका ३३ वर्षीय सञ्चालक डिलबहादुर रसाईली र सोही स्थानमा सुविना सुनचाँदी पसल सञ्चालन गर्दै आएकी २८ वर्षीया कनिषा विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार डिलबहादुरको पसलबाट पीडितको कानबाट निकालिएको ४२ लाल २ प्वाइन्ट तौलका दुई थान सुनका रिङसमेत बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।




प्रतिक्रिया