सांसद सिंहको चेतावनी: ‘देश रहे मात्र सत्ता र प्रतिपक्ष रहन्छ, संसद्लाई घोचपेचको थलो नबनाऔँ’


काठमाडौँ । प्रतिनिधिसभाका अनुभवी सांसद अमरेशकुमार सिंहले देश गम्भीर संकटतर्फ धकेलिएको भन्दै राजनीतिक दलहरूलाई दलीय खिचातानी र घोचपेचभन्दा माथि उठ्न आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो समय देशमा व्याप्त निराशा र नागरिकको चरम असन्तुष्टिप्रति संसद्को गम्भीर ध्यानाकर्षण गराएका हुन्।

सम्बोधनको ुरुमै उनले हालै आत्मदाह गरेका तीन जना नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

सिंहले भने, ‘आज हाम्रो राज्य संकटमा छ र जनतामा चरम नैराश्य छाएको छ,’ संसद्मा आफ्नो धारणा राख्दै सिंहले भने, ‘सबै दलहरूलाई मेरो आग्रह छ- हामी संसद्लाई घोचपेच र सस्तो राजनीतिको विषय नबनाऔँ। देश रहे मात्र सत्ता र प्रतिपक्ष रहन्छ।’

सांसद सिंहले लोकतन्त्र नै समाप्त हुने खतरा बढेको औंल्याउँदै देशमाथि आइलागेको संकटप्रति सबै गम्भीर हुनुपर्नेमा जोड दिए। हाल समाजका हरेक वर्ग— व्यवसायी, आम नागरिकदेखि विद्यार्थीसम्ममा चरम निराशा फैलिएको उल्लेख गर्दै उनले जनतालाई थप निराश नबनाउन नेतृत्वसँग आग्रह गरे।

देशमा विद्यमान समस्याहरूलाई सम्बोधन गर्न संसद्ले ठोस कदम चाल्नुपर्ने बताउँदै सिंहले राष्ट्रिय मुद्दाहरू तय गरेर तिनको प्याकेजमा समाधान खोज्न सभामुख डीपी अर्यालसँग विशेष आग्रहसमेत गरे। व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय संकट समाधानका लागि साझा प्रतिबद्धता जनाउनुपर्ने उनको भनाइ थियो।