विधेयक प्रमाणीकरणः नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुल्यो


काठमाडौं । मुलुकको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कानुनी बाटो खुला गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भई आएका बजेटसँग आश्रित ती विधेयकहरूलाई राष्ट्रपति पौडेलले संविधान सम्मत प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रमाणीकरण गरिएका विधेयकहरूमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ रहेका छन् । संसद्‌बाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका यी विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो प्रमाणीकरणसँगै सरकारलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ बजेट खर्च गर्ने, राजस्व संकलन गर्ने तथा आवश्यक आन्तरिक ऋण उठाउने पूर्ण कानुनी अख्तियारी मिलेको छ । संसद्‌मा लामो बहस र संशोधनसहित पारित भएका यी तीन विधेयकले देशको आगामी आर्थिक वर्षको आर्थिक गतिविधिलाई मार्गनिर्देश गर्नेछन् ।